दोहा।
कतारको सबैभन्दा ठुलो ग्यास फ्याक्ट्रीमा भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा १३ जनाको ज्यान गएको छ भने अन्य ६६ जना घाइते भएका छन्।
र्यास लाफान औद्योगिक क्षेत्रमा रहेको देशकै मुख्य तरलीकृत प्राकृतिक ग्यास ९एलएनजी० प्रशोधन केन्द्रमा आइतबार राति ‘प्राविधिक दुर्घटना’ भएको कतारी गृह मन्त्रालयले जनाएको छ।
कतारका ऊर्जामन्त्री साद शेरिदा अल(काबीले यो एक दुर्घटना भएको र यसमा कुनै पनि प्रकारको शत्रुतापूर्ण गतिविधि संलग्न नरहेको स्पष्ट पारेका छन्। उनले यो विस्फोटबाट देशको ग्यास निर्यातमा कुनै असर नपर्ने समेत बताए।
र्यास लाफान बन्दरगाह संसारकै सबैभन्दा ठुलो कृत्रिम बन्दरगाह हो र यहाँ विश्वकै ठुलो एलएनजी निर्यात केन्द्र रहेको छ। आइतबार भएको यो विस्फोटको धक्का ७० किलोमिटर टाढा रहेको केन्द्रीय दोहासम्म महसुस गरिएको थियो, जसका कारण त्यहाँका बासिन्दाहरू त्रसित बनेका थिए।
ऊर्जामन्त्री अल(काबीका अनुसार बारजान स्थानीय ग्यास आपूर्ति केन्द्रमा भएको यो विस्फोटको कारण पत्ता लगाउन सरकारले काम गरिरहेको छ। उनले यसबाट कुनै वातावरणीय जोखिम नरहेको बताए पनि उद्योगको कामकाज कहिलेदेखि पूर्ण रूपमा सञ्चालनमा आउँछ भन्ने कुरा यकिन गर्न गाह्रो भएको उल्लेख गरे।
यसैबिच, दोहास्थित भारतीय दूतावासले आफूहरू कतारी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको र ज्यान गुमाउने तथा घाइते भएकाहरूका परिवारलाई हरसम्भव सहयोग गर्ने जनाएको छ।
कतारको सरकारी ऊर्जा कम्पनी ‘कतारइनर्जी’ ले आइतबार बेलुकी बारजान स्थानीय ग्यास आपूर्ति केन्द्रमा विस्फोट भएको पुष्टि गरेको हो। कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आगोलाई नियन्त्रणमा लिन आपत्कालीन उद्धार टोलीहरू तुरुन्तै परिचालन गरिएको थियो र अहिले आगो नियन्त्रणमा आइसकेको छ।’
मार्च महिनादेखि रोकिएको काम कामदारहरूले पुनः सुरु गर्ने क्रममा यो विस्फोट भएको हो।
विष्फोटमा नेपालीहरु पनि घाइते भएको बताइएको छ ।घाइते हुनेहरुमा नेपालीसहित कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिकहरु पनि रहेको बताइएको छ । उनीहरुको उपचार जारी छ । तर घाइतेहरुको नामावली सार्वजनिक भएको छैन । जसको कारण कति नेपाली घाईते भएका छन् भन्ने यकिन विवरण आएको छैन ।













