विश्वकर्मा समाज महिला समितिद्वारा शुभकामना आदानप्रदान

केन्द्रभाग मिडिया

पोखरा ।
विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

समाजको आफ्नै भवन पोखरा–रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा महिला समितिका सदस्यहरूले समाजका कार्यसमिति सदस्य, संरक्षक तथा सल्लाहकारहरूलाई टीका, माला र टोपी लगाइदिएर तिहारको शुभकामना आदानप्रदान गरेका थिए ।

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सम्मान र सद्भावलाई प्रगाढ बनाउने भएकाले महिला समितिले २०८१ सालदेखि हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गर्दै आएको कार्यक्रम संयोजक एवं समितिकी उपाध्यक्ष पद्मा लाम्गादे घतानेले जानकारी दिइन् । उनले कार्यक्रमले दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता, आपसी सद्भाव र संस्थागत एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरिन् ।

कार्यक्रमका प्रमुख अतिथि विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्कीका अध्यक्ष बेलबहादुर विश्वकर्माले समाजको लामो ऐतिहासिक पृष्ठभूमि रहेको उल्लेख गर्दै संस्थाको विकास, एकता र गतिविधिलाई प्रभावकारी बनाउन महिला समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

उनले समाजको भवन निर्माण कार्यलाई पूर्णता दिन आर्थिक सहयोग जुटाउने उद्देश्यले यही कात्तिक २२ देखि २४ गतेसम्म देउसी–भैलो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए । समाजको आफ्नै भवनलाई थप व्यवस्थित बनाउन सबैको साथ, सहयोग र सहभागिता आवश्यक रहेको उनको भनाइ थियो ।

सो अवसरमा समाजका संरक्षक होमकुमारी गडाल, माया विश्वकर्मा र प्रेम लाम्गादेलाई समाजका विभिन्न गतिविधिमा पुर्‍याएको विशेष सहयोग र योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

समाजका सदस्य, दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता महिला समितिकी अध्यक्ष कमला सुनारले गरेकी थिइन् । कार्यक्रम सञ्चालन समितिकी महासचिव रिमा विश्वकर्माले गरेकी थिइन् ।

  • २१ कार्तिक २०८३, शनिबार २१:११ प्रकाशित