पोखरा ।
पोखराको लेकसाइडस्थित गौरीघाटमा सोमबार मौलिक देउसी–भैलो उत्सव आयोजना हुने भएको छ । नेपाली मौलिक संस्कृति र परम्परागत देउसी–भैलोको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिकाको पर्यटन प्रवर्द्धन शाखा र पब्लिक फोरके टेलिभिजनको संयुक्त आयोजनामा उत्सव हुन लागेको हो ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले यही कात्तिक २३ गते पोखरा महानगरपालिका–६, लेकसाइडस्थित गौरीघाटमा बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुने जानकारी दिएको हो । उत्सवमा विभिन्न जातजातिका १० समूहले आ–आफ्नो मौलिक संस्कृति, परम्परागत भेषभूषा र शैलीमा देउसी–भैलो प्रस्तुत गर्नेछन् ।
पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीका अनुसार सहभागी समूहको मौलिकता, परम्परागत भाका, शब्द, लय, ताल, भेषभूषा र सांस्कृतिक प्रस्तुतिका आधारमा प्रतियोगिता सञ्चालन गरिनेछ ।
पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले देउसी–भैलो नेपाली समाजको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा भएको बताए । पछिल्लो समय आधुनिकताको प्रभावसँगै देउसी–भैलोको मौलिक स्वरूप परिवर्तन हुँदै गएको उल्लेख गर्दै उनले पुराना भाका, शब्द र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताए ।
उनका अनुसार उत्सवले मौलिक देउसी–भैलोको संरक्षण र पुस्तान्तरणमा सहयोग पुर्याउनुका साथै पोखरा आउने विदेशी पर्यटकलाई नेपाली तिहारको सांस्कृतिक महत्त्व बुझाउने अवसरसमेत प्रदान गर्नेछ ।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले संस्कृति संरक्षणलाई पर्यटन प्रवर्द्धनसँग जोड्नुपर्ने बताए । स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली चाडपर्व, संस्कार र परम्पराबारे प्रत्यक्ष जानकारी गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाइ छ । उत्सवस्थलमा सयपत्री फूल र सेलरोटीका स्टलसमेत राखिने उनले जानकारी दिए ।
कडरियाले देउसी–भैलो मनोरञ्जनको माध्यम मात्रै नभई नेपाली मौलिक पहिचान र सामाजिक एकताको प्रतीकसमेत भएको बताए । आधुनिकताको प्रभावसँगै हराउँदै गएका परम्परागत शैलीलाई पुनर्जीवित गर्ने, नयाँ पुस्तालाई आफ्नै संस्कृतिप्रति आकर्षित गर्ने र पोखरा आएका पर्यटकलाई नेपाली सांस्कृतिक परम्पराबारे जानकारी गराउने उद्देश्यले उत्सव आयोजना गरिएको आयोजकको भनाइ छ ।
पोखरा पर्यटन परिषद्का महासचिव मिलन तिवारीले उत्सवले पोखराको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे । प्रतियोगितामा सहभागी प्रत्येक समूहलाई पाँच हजार पाँच सय ५५ रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट हुने समूहलाई २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्रसहित ‘देउसी–भैलो च्याम्पियन’ घोषणा गरिने पब्लिक फोरके टेलिभिजनका पत्रकार घनश्याम पाण्डेले जानकारी दिए । उनका अनुसार उत्सवलाई आगामी वर्षमा पनि निरन्तरता दिइनेछ ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठान प्रवर्द्धकका रूपमा रहेका छन् । त्यस्तै, पर्यटनसम्बन्धी विभिन्न संघसंस्था, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखा तथा माछापुच्छ्रे, अन्नपूर्ण, मादी र रूपा गाउँपालिकाले सहकार्य गरेका छन् ।













