रत्नज्योतिमा कक्षा ११ का विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा।

पोखरा महानगरपालिका–८, रत्नचोकस्थित श्री रत्नज्योति अङ्ग्रेजी माध्यमिक विद्यालय अन्तर्गत सञ्चालित रत्नज्योति कलेजले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा भर्ना भएका नवप्रवेशी विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

जिरो किलोमिटरस्थित गोल्डेन हाउस पार्टी प्यालेसमा २०८३ जेठ २८ गते बिहान ७ः३० बजेदेखि १०ः३० बजेसम्म आयोजित उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सो अवसरमा नवप्रवेशी विद्यार्थीहरूलाई टीका, खादा, पुष्पगुच्छा तथा विद्यालयको मायाको चिनोस्वरूप डायरी प्रदान गरी आत्मीय स्वागत गरिएको थियो।
कलेजका संस्थापक तथा निर्देशक हेमन्त अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा अभिमुखीकरण संयोजक भुवन सुबेदीले गरेका थिए ।

कार्यक्रमको प्रारम्भमा प्राचार्य विष्णुप्रसाद भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै नवप्रवेशी विद्यार्थीहरूलाई कलेज परिवारमा हार्दिक स्वागत गरे। उनले विद्यार्थीहरूलाई अध्ययन, अनुशासन र व्यक्तित्व विकासका माध्यमबाट उत्कृष्ट नागरिक बन्न प्रेरित गरे ।

उक्त कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ मनोसामाजिक परामर्शदाता बिकल शेरचन रहेका थिए। प्रमुख अतिथि शेरचनले विद्यार्थीहरूका लागि विशेष प्रेरणामूलक सत्र सञ्चालन गर्दै जीवनमा स्पष्ट लक्ष्य निर्धारण, सकारात्मक सोच, आत्मविश्वास तथा निरन्तर परिश्रमको महत्वबारे प्रकाश पारे।

उनले सफलता कुनै संयोग नभई दृढ संकल्प, अनुशासन र निरन्तर प्रयासको परिणाम भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई आफ्नो सपना साकार पार्न समर्पित भएर लाग्न आग्रह गरे ।

कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनपूर्ण बनाउन विद्यार्थीहरू आरजु तामाङ, ग्रिश्मा शर्मा, ओसिन थापा मगर, करिश्मा विक तथा रसमी बसेलले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए। सांस्कृतिक प्रस्तुतिले कार्यक्रममा उत्साह र उल्लास थपेको थियो।

नवप्रवेशी विद्यार्थीहरूको तर्फबाट प्राप्ति आचार्य, अनमोल गुरुङ, उज्ज्वल भण्डारी तथा निश्चल सुनारले मन्तव्य व्यक्त गर्दै रत्नज्योति कलेज रोज्न पाएकोमा खुसी व्यक्त गरे। उनीहरूले कलेजले प्रदान गर्ने गुणस्तरीय शैक्षिक वातावरणको अधिकतम सदुपयोग गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता जनाए।

अभिमुखीकरण सत्रमा  संयोजक भुवन सुबेदीले विद्यार्थीहरूले कलेज अवधिभर पालना गर्नुपर्ने शैक्षिक नीति, आचारसंहिता, अनुशासन, सहपाठ्य तथा अतिरिक्त क्रियाकलापलगायतका विषयमा विस्तृत जानकारी गराएका थिए ।

सोही अवसरमा कलेजको यस वर्षको भर्ना अभियानमा उल्लेखनीय योगदान पुर्‍याउने शिक्षकहरू विश्वास गुरुङ, विक्रम चापागाईं तथा कल्पना आचार्यलाई सम्मान गरिएको थियो। कलेजले उनीहरूको समर्पण, सक्रियता र संस्थाप्रतिको प्रतिबद्धताको उच्च मूल्याङ्कन गर्दै मायाको चिनो प्रदान गरेको थियो।

कलेजका सुपरिवेक्षक तीर्थराज ढकालले विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन संकाय सञ्चालन गर्दै आएको रत्नज्योति कलेजप्रति विद्यार्थी तथा अभिभावकहरूको विश्वास वर्षेनी बढ्दै गएकोमा खुसी व्यक्त गरे।

अन्त्यमा सभाध्यक्ष तथा कलेजका निर्देशक हेमन्त अधिकारीले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउनुहुने प्रमुख अतिथि, शिक्षक, कर्मचारी, अभिभावक तथा सम्पूर्ण विद्यार्थीहरूप्रति आभार व्यक्त गर्दै कलेजले विद्यार्थीहरूको शैक्षिक उत्कृष्टता, व्यावहारिक सीप विकास तथा चरित्र निर्माणलाई केन्द्रमा राखी गुणस्तरीय शिक्षाको विकासमा निरन्तर लागिरहने प्रतिबद्धता सहित कार्यक्रम समापन गरे।

  • २९ जेष्ठ २०८३, शुक्रबार ११:१३ प्रकाशित