कास्कीमा २०२३ देखि रोकिएका १ लाख ५० हजारभन्दा बढी लाइसेन्स वितरण सुरु

केन्द्रभाग मिडिया

पोखरा ।

यातायात व्यवस्था कार्यालय कास्कीले सन् २०२३ देखि रोकिएका १ लाख ५० हजारभन्दा बढी सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० वितरण थालेको छ । नयाँ प्रणालीअनुसार छापिएका लाइसेन्स पनि कार्यालयले बाँड्न सुरु गरेको हो । नयाँ, नवीकरण र वर्ग थपका लागि राजस्व बुझाएका सेवाग्राहीको लाइसेन्स कार्यालय आइपुगेको सूचना जारी गरिएको छ ।

कार्यालयले विशेषगरी वैशाख २ देखि २८ गतेसम्म राजस्व बुझाएका सेवाग्राहीलाई प्राथमिकतामा राखेको छ । सरकारले आवेदन दिएको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने निर्णय गरेपछि कास्कीमा यो पहिलो खेप आइपुगेको हो । गत चैत अन्तिम साता सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नयाँ लाइसेन्स २४ घण्टामै छापिने दाबी गरेका थिए । तर मुद्रण भएका कार्ड सम्बन्धित कार्यालय पुगेर वितरण हुन झण्डै १ महिना लागेको छ ।

मुद्रण केन्द्रले चाँडै छापे पनि ढुवानी र प्राविधिक प्रक्रियाका कारण सेवाग्राहीको हातमा पुग्न समय लागेको सूचना अधिकारी गोविन्द चौधरीले बताए ।

कार्यालयले अझै ४० हजार लाइसेन्स छापिएर आउन बाँकी रहेको तथ्यांक कार्यालयले जानकारी दिएको जनाएको छ । लाइसेन्स लिन जानुअघि आफ्नो कार्ड छापिएको छ वा छैन भन्ने जानकारी अनलाइनबाटै जाँच गर्न सकिने छ । सेवाग्राहीले विभागको वेबसाइटमा गएर आफ्नो लाइसेन्सको अवस्था बुझेर मात्र कार्यालय जान चौधरीले आग्रह गरे ।

  • १४ जेष्ठ २०८३, बिहीबार १५:३४ प्रकाशित