अन्नपूर्ण म्याराथनको छैठौं संस्करण २० जेठमा : ९० प्रतिशत तयारी पुरा

केन्द्रभाग मिडिया

पोखरा ।

अन्नपूर्ण म्याराथनको छैठौं संस्करण २० जेठमा आयोजना हुने भएको छ ।

अन्नपूर्ण आरोहण दिवसको अवसरमा जुन ३ अर्थात जेठ २० गते म्याराथनको आयोजना गर्न लागिएको आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

४२.१९५ किलोमिटरमा म्याराथन दौड हुने आयोजकले बताएको छ । अन्नपूर्ण आधारशिविर बाट आरम्भ भई माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिन्क केभ, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुईले, मेलाँचे, काम्रोङडाँडा, किम्रोङखोला, उरी हुदैं घान्द्रुकको श्री मेश्रम बराह माविको खेल मैदान सम्म म्याराथनको रुट निर्धारण गरिएको छ ।

महिला र पुरुषको छुट्टाछुट्टै प्रतिष्पर्धा हुने आयोजकले बताएको छ । अन्नपूर्ण म्याराथन २०८३ मा भाग लिनका लागि स्वदेशी तथा विदेशी धावकहरुले नाम दर्ता गराउने क्रम जारी रहेको पत्रकार सम्मेलनमा बताइएको छ ।

म्याराथनमा सहभागी हुन चाहने धवकहरुले यहि जेठ १५ गते सम्म नाम दर्ता गराइ सक्नुपर्ने आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवम् म्याराथनका संयोजक ललित गुरुङले बताए । संयोजक गुरुङको अनुसार नाम दर्ता गराएका धावकहरु जेठ १९ गते म्याराथन आरम्भ हुने बिन्दु अन्नपूर्ण आधारशिविरमा पुगेर आयोजकको सम्पर्कमा आउनुपर्नेछ ।

आयोजकको अनुसार हालसम्म १३ विदेशी धावकसहित ४० धावकहरुले म्याराथनमा सहभागी हुनका लागि नाम दर्ता गराई सकेका छन् ।अर्जेन्टिनाका चर्चित धावक पाब्लो उरेटाले पनि म्याराथनमा भाग लिने भएका छन् ।

म्याराथनमा सहभागी हुनको लागि पुरुष र महिला दुवैलाई दर्ता शुल्क ७ हजार निर्धारण गरिएको छ ।यस्तै म्याराथनमा प्रथम हुने महिला र पुरुष धावकले समान १ लाख ५० हजार, द्वितीय हुनेले समान एक लाख, तृतीय हुनेले समान ७५ हजार, पदक र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

म्याराथन प्रतियोगितामा विविध साँस्कृतिक कार्यक्रमहरु पनि हुने छ भने अन्नपूर्ण गाउँपालिकाको समग्र पर्यटनको प्रवद्र्धनमा सञ्चार माध्यमबाट महत्वपूर्ण भूमिका खेल्ने पत्रकारलाई अन्नपूर्ण पत्रकारिता पुरस्कार २०८३ बाट सम्मान गरिने आयोजकले बताएको छ ।

म्याराथन सम्मपन्न गर्नको लागि करिब ३८ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।म्याराथन सफलतापूर्वक सम्पन्न गर्नका लागि आयोजकले ५०१ सदस्यीय रहेको मुल व्यवस्थापन समिति, विभिन्न १३ वटा उपसमिति गठन गरेको छ ।

म्याराथनको ९० प्रतिशत तयारी पुरा भएको आयोजकले बताएको छ ।

  • ६ जेष्ठ २०८३, बुधबार १५:१८ प्रकाशित