ज्ञानज्योति विद्याकुञ्जका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. ३२ मा अवस्थित ज्ञानज्योति विद्याकुञ्ज माविले एसइईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा वधाई ज्ञापन गरेको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरेको हो । उक्त विद्यालयबाट एसइईमा सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

विद्यालयले एक कार्यक्रमको आयोजना गरि पोखरा महानगरपालिका वडा नं.३२ की वडा सदस्य शोभा विक, विद्यालयका प्रिन्सिपल अर्जुनप्रसाद अधिकारीले विद्यार्थीलाई बधाई तथा खाद अविर र मायाको चिनोले सम्मान गरेका थिए । उक्त अवसरमा अभिभावक तथा शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूको मेहनत, लगनशीलता र उत्कृष्ट सफलताको सम्मान गर्दै खुशी साटासाट गरिएको थियो।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल अर्जुनप्रसाद अधिकारीले विद्यार्थीहरूको उज्ज्वल उपलब्धिप्रति गर्व व्यक्त गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरे । उनले विद्यार्थीहरूको सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभिभावकहरूको निरन्तर साथ, सहयोग र विश्वासप्रति धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा बोल्दै वडा सदस्य शोभा विकले विद्यालयको रिजल्टले नै विद्यालयको शैक्षिक गुणस्तर मापन गर्ने बताउँदै आगामी दिनमा पनि उत्कृट रिजल्ट ल्याउनका लागि शुभकामना व्यक्त गरिन् ।

विद्यालयका प्रिन्सिपल अर्जुनप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एकेडेमीक डिन टंकराज सुवेदी, कार्यक्रम संयोजक सूर्यमोहन खनाल, मिन्त्रबन्धु सुवेदी, झलक अर्याल र विद्यार्थी जेशिका गुरुङले बोलेका थिए । कार्यक्रममा विद्यालयका व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

  • ३ जेष्ठ २०८३, आईतवार १६:३२ प्रकाशित