म्याग्दी ।
अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेसंगै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानैदेखि अवरुद्ध भएको छ ।
विहान करिव ५ः३० बजे ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटेमै रोकिएका छन् ।
स्थानीयवासीका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा पुग्ने पर्यटक र तीर्थयात्रीहरु प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक सागर तिमिल्सीनाका अनिसार अहिले सो क्षेत्रमा वर्षा भइरहेका कारण पहिरो पन्छाउन सकिएको छैन । सडक विभागका उपकरण परिचालन गरेर अवरुद्ध सडक खुलाउन पहल भइरहेको उनले बताए । ‘अहिले वर्षा भइरहेकोले पहिरो खुलाउन कठिन भएको हो । सडक विभागबाट उपकरण आउने क्रममा छ । वर्षा रोकिएको केही बेरमै सडक खुल्छ’ उनले भने ।
महभिरमा सडकदेखि करिब ५ सय मिटरमाथिको भिरबाट पहिरो खस्ने गरेको छ । सामान्य वर्षा हुँदाबित्तिकै लेदोसहित खस्ने पहिरोले सडक अवरुद्ध गराउनुका साथै अन्य समयमा दुर्घटनाको जोखिम बढाएको छ ।












