एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी : यसरी हेर्न सकिनेछ नतिजा

केन्द्रभाग मिडिया

भक्तपुर ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । सरकारले यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरिरहेको हो ।

कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, “सरकारले वैशाख २९ गतेभित्र एसइईको नतिजा सार्वजनिक गर्न अन्तिम समयसीमा दिएको थियो, त्यो सीमाभित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका छौँ, परीक्षार्थीको प्राप्ताङ्क ‘कम्प्युटर’मा ‘इन्ट्री’ गर्ने काम सकिएको छ, कि कतै केही गल्ती छ कि भनेर रुजु गर्ने काम पनि करिब सकिएको छ, कुनै प्राविधिक समस्या नआए मङ्गलबार नतिजा सार्वजनिक गर्छौं ।”

बोर्डको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरी एसइईको नतिजा कसरी हेर्ने भन्ने बारेमा जानकारी दिएको छ । कार्यालयले नतिजा हेर्न ‘एसएमएस’ गरेर वा सिधै ‘वेबसाइट’मा गएर एसइईको नजिता हेर्न सकिने व्यवस्था गरेको छ ।

यस वर्ष गत चैत १९ गतेदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रबाट परीक्षा सुरु भएको थियो । यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जना परीक्षामा सहभागी हुन आवेदन दिएका थिए ।

चैत २९ गते सम्पन्न एसइई परीक्षाको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न सरकारले बोर्डलाई निर्देशन दिएपछि बोर्डले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको थियो ।

विगतमा परीक्षा सम्पन्न भएको करिब तीन महिनामा नतिजा सार्वजनिक हुने गरेको भए पनि यस वर्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले परीक्षा सुरु हुनुभन्दा पहिले नै बोर्डलाई एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिनुभएको थियो । यस वर्ष परीक्षा भएकै केन्द्रमा परीक्षा सकिएको तीन दिनभित्र परीक्षाको उत्तरपुस्तिका परीक्षण गरिएको थियो ।

एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका
परीक्षार्थीहरूले तल दिइएका सर्टकोडहरूमा एसएमएस पठाएर वा फोन गरेर आफ्नो नतिजा प्राप्त गर्न सक्नेछन्:

नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)

वेबसाइटबाट नतिजा हेर्ने ठेगानाहरू:
इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्नका लागि कार्यालयले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटहरूलाई अनुमति दिएको छ । प्रमुख वेबसाइटहरू यस प्रकार छन्:
आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np
नेपाल टेलिकम: www.see.ntc.net.np
कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
इडियु सञ्जाल: www.see.edusanjal.com
खल्ती: https://khalti.com/app
निमा एजुकेशन, फोनिक्स एजुकेशन, एम्बिसन गुरु, मेरो स्टडी, र इन्द्रेणी टाइम्सका वेबसाइटहरूबाट पनि नतिजा हेर्न सकिनेछ ।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित भएपछि यी आधिकारिक माध्यमहरूबाट मात्र आफ्नो नतिजा रुजु गर्न परीक्षार्थी र अभिभावकहरूलाई अनुरोध गरेको छ  ।

 

रासस

  • २८ बैशाख २०८३, सोमबार १४:१० प्रकाशित