काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो लागेको छ । सोमबार बिहान ७ बजे इस्तानबुलबाट काठमाडौं आएको एयरलाइन्सको पाङ्ग्रामा अवतरणको क्रममा आगो लागेको हो ।
विमानस्थल स्रोतका अनुसार विमान रनवेमा चिप्लिएको थियो । दमकल प्रयोग गरेर आगो निभाइएको छ । यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो ।
विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार घटनालगत्तै दमकल पुगेर आगोलाई नियन्त्रणमा लिइएको थियो । उनका अनुसार सबै यात्रु सुरक्षित छन् । अहिले रनवे बन्द गरेर विमानलाई ट्याक्सी-वे तर्फ लैजाने प्रयास भइरहेको उनले जानकारी दिए । यसपछि विमानको प्राविधिक जाँच गरिने पनि सिलवालले जानकारी दिए ।
विमानमा २७८ जना यात्रु र ११ जना चालक दलका सदस्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । विमानमा संयुक्त राष्ट्र संघका कूटनीतिज्ञहरु समेत सवार रहेको एसपी सिलवालको भनाई छ ।
यसअघि २०७१ सालमा पनि टर्किस एयरलाइन्सको विमान धावनमार्ग नै अवरुद्ध हुने गरी दुर्घटना भएको थियो । जसमा कुनै मानविय क्षति नभए पनि त्रिभुवन विमानस्थल ४ दिनसम्म बन्द हुन पुगेको थियो ।













