काठमाडौं ।
पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । मध्य अमेरिकी देश पानामा शुक्रबार गएको भूकम्पको राजधानी पानामा सिटीसम्म धक्का महसुस भएको छ भने विभिन्न स्थानमा भवन, सडक र पुलमा क्षति पुगेको जनाइएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणकाअनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः५६ बजे भूकम्प गएको हो । यसको केन्द्रबिन्दु राजधानी पानामा सिटीबाट केही घण्टाको दूरीमा रहेको अजुएरो प्रायद्वीपको पितालोसा अरिबा क्षेत्रबाट करिब ९ माइल दक्षिणपश्चिममा थियो ।
भूकम्पपछि शक्तिशाली परकम्पसमेत गएका छन् । दिउँसो ४ः२५ बजे गएको परकम्पको प्रारम्भिक तीव्रता ६.९ म्याग्निच्युड मापन गरिएको थियो । भूगर्भविद्हरूले तत्कालका लागि परकम्पलाई मुख्य जोखिमका रूपमा औँल्याएका छन् ।
भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको तटीय सहर एल भेनाओमा अवस्थित एल सिटियो होटल भत्किएको छ । होटल भत्किँदा मानवीय क्षति भने नभएको बताइएको छ । उक्त क्षेत्रमा केही घरमा चिरा परेको र एउटा पुलमा समेत क्षति पुगेको छ । भूकम्पका कारण विद्युत् आपूर्तिसमेत अवरुद्ध भएको उनले बताए ।
‘अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको अहिलेसम्म कुनै पनि मानवीय क्षति नभएको हो,’ शहरका मेयर बाटिस्टाले पानामाको टेलिभिजन च्यानल टेलिमेट्रोलाई भनेका छन् ।













