मुलुक अर्थतन्त्रको जहाज मोड्ने अबस्थामा छ : अर्थमन्त्री डा. वाग्ले

केन्द्रभाग मिडिया

काठमाडौं ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको जहाज मोड्ने अवस्थामा मुलुक रहेको बताएका छन् । संघीय राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले त्यसका लागि आगामी बजेटसम्म पर्खिन पनि उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् ।

राजनीतिक स्थायित्व र इमानदारीपूर्वक देश अघि बढाउँदा छिमेकी मुलुक भारतले गरेको प्रगतिको उदाहरण दिँदै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्ने समय र अहिले नेपालको अर्थतन्त्रको केही सूचकहरू समान रहेको बताए ।

‘सन् २०१४र१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रको केही सूचक नेपालकै अहिलेकै हाराहारी थियो । तर पछिल्लो १२ वर्षमा त्यो फड्को मारेर कहाँबाट कहाँ पुग्यो । हामी पनि सोही बाटो लाग्ने बेला भएको छ’ उनले भने ।

अर्थमन्त्री वाग्लेले सरकारले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गर्दैछ भन्ने हल्लाको पछि नलाग्न समेत आग्रह गरे । उनले उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको हल्लामा कुनै सत्यता नभएको समेत प्रस्ट पारे ।

‘निजी क्षेत्रका व्यवसायीलाई थुन्ने धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन र होइन। तपाईँहरू हल्लाको पछि नपर्नुस् तपाईँहरू हाम्रो साझेदार हो’ उनले भने ।

मन्त्री वाग्लेले सरकारको १०० बिलियन डलरको अर्थतन्त्र बनाउने योजनाको निजी क्षेत्र साझेदार रहेको पनि बताए । कार्यक्रममा बोल्दै उनले सरकारका पाँच प्राथमिकताहरू बारे पनि प्रस्ट्याए ।

सरकारको पहिलो प्राथमिकता सुशासन, दोस्रो अर्थतन्त्रको पुनरुत्थान, तेस्रो मुलुकमा आन्तरिक र बाह्य कनेक्टीभिटी, चौथो सामाजिक लगानी र पाँचौँ पर्यटन, संसकृति र इतिहासमार्फत सौम्य शक्ति विस्तार रहेको बताए ।

 

  • २६ बैशाख २०८३, शनिबार ११:५७ प्रकाशित