पोखरा ।
गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधन र ढुवानीका साधनको भाडा समायोजन गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आज (बुधबार) देखि लागू हुने गरी भाडा समायोजन गरेको हो । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, यातायात व्यवस्थापन महाशाखा प्रमुख दिनेस प्रकाश आचार्यका अनुसार मन्त्रीस्तरीय निर्णयपछि पोखरा उपत्यकामा चल्ने नगर बस, लामो दूरीका बस, ट्याक्सी र मालवाहक ट्रकको भाडा समायोजन गरिएको हो ।
समायोजित भाडा अनुसार पोखरा भित्र नगर बसमा ३ किलोमिटरसम्मको न्यूनतम भाडा २० बाट बढाएर २४ पुर्याइएको छ । ३ किलोमिटरभन्दा माथिको दूरीमा प्रति किलोमिटर ३ रुपैयाँ तोकिएको छ । पेट्रोलबाट चल्ने ट्याक्सीको सुरुवाती शुल्क ८० नै कायम गरिएको छ ।
दिउँसोमा चल्ने ट्याक्सीले प्रति २०० मिटरको भाडा १० बाट बढाएर ११ कायम गरिएको छ भने १५ किमीभन्दा माथि गुड्दा प्रति किलोमिटर ४३ रुपैयाँ लाग्नेछ । रातीको समयमा सुरवाती शुल्क ८० नै कायम छ भने पल्स दर प्रति २ सय मिटरमा १७ रुपैयाँ तोकिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सीलाई पनि छुट्टै भाडादर तोकिएको छ । एयरपोर्टबाट चल्ने ट्याक्सीको सुरुवाती शुल्क ८० र प्रति २ सय मिटरको पल्स दर १२ रुपैयाँ तोकिएको छ । रात्रिकालीन सेवामा भने नियमित ट्याक्सी सरह नै प्रति २ सय मिटर १७ रुपैयाँ लाग्नेछ ।
लामो दुरीको यात्रुवाहक बसलाई प्रति किलोमिटर ३.९ बाट बढाएर ४ रुपैयाँ लिन पाउने गरी दर कायम गरिएको छ । जिपले प्रति किलोमिटर ७ रुपैयाँ लिन पाउनेछन् । यसअघि यो शुल्क ५.५ रुपैयाँ थियो । सामान ढुवानी गर्ने ट्रकको भाडा प्रति किलोमिटर प्रति टन ११.७२ बाट बढाएर १५ कायम गरिएको छ ।
मन्त्रालयका अनुसार प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक विद्युतीय सवारीसाधनको हकमा भने यस अगाडिकै ( १ फागुन २०७८) कै भाडादर लागू हुनेछ । त्यसैगरी यात्रुले १५ केजीसम्म सामान निःशुल्क लैजान पाउने र सोभन्दा बढी लिँदा थप १० केजीसम्म सामानको प्रति केजी ५ का दरले शुल्क लाग्ने व्यवस्था गरिएको छ ।
मन्त्रालयले पोखरा उपत्यका र १५ किलोमिटरको दूरीभित्र चल्ने सम्पूर्ण ट्याक्सीहरूलाई अनिवार्य रूपमा मिटर प्रणालीमा सञ्चालन गर्न निर्देशन दिएको छ ।
यसअघि १ फागुन २०७८ मा नयाँ भाडा समायोजन भएको थियो । त्यसयता पटक पटक पेट्रोलियम पदार्थको मूल्य बृद्धि भए पनि भाडा समायोजन नगरिएको भन्दै यातायात व्यवसायीले आलोचना गरेका थिए ।












