मेयर आचार्यले सुकुमबासीलाई भने

‘संघर्ष नभई सहयोग तथा सहजीकरण समिति गठन गर’

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले वास्तविक सुकुमबासीको समस्या समाधान हुने हुँदा आन्दोलनको आवश्यकता नरहेको बताएका छन् । पोखरा बसपार्क क्षेत्रका सुकुमबासीले पत्रकार भेटघाट कार्यक्रम मार्फत आन्दोलनको घोषणा गरेको भोलिपल्ट सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो आग्रह गरेका हुन् ।

प्रमुख आचार्यले सुकुम्वासी समस्या समाधानका लागि देशभरमै सम्भवतः सबैभन्दा छिटो निस्सा वितरण गर्ने काम पोखरा महानगरपालिकाले सम्पन्न गरेको स्मरण गराउँदै यस्तो आग्रह गरेका हुन् । उनले निस्सा गरेका नागरिकहरूको यथार्थ छानबिन गरी, हाल बसोबास गरिरहेको स्थान जोखिमरहित भएको र सरकारी परियोजनाको लागि आवश्यक नभएको अवस्थामा सोही स्थानमा व्यवस्थापन गरिने पनि प्रष्ट्याएका छन् । अन्यथा, नियमानुसार वैकल्पिक स्थानमा व्यवस्थापन गरिने प्रक्रिया अगाडि बढाइएको समेत उनले जानकारी दिए ।

प्रमुख आचार्यले पछिल्ला केही दिनयता अतिक्रमित स्थल खाली गराउने सम्बन्धी सूचना जारी भएपछि, सुकुमबासी बस्तीलाई मानव ढालका रूपमा प्रयोग गर्ने प्रयाससहित अनावश्यक उत्तेजना र आवेग सिर्जना गरिएको देखिएको भन्दै उनले दुख समेत प्रकट गरेका छन् ।

निस्सा प्राप्त गरेका नागरिकलाई सम्बोधन गर्दै उनले महानगरपालिका समस्या समाधानका लागि जिम्मेवारढंगले कार्य गरिरहेकाले कसैको स्वार्थका लागि प्रयोग नहुन समेत भनेका छन् , ‘प्रिय निस्सा प्राप्त गर्नु भएका दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईंहरूले आन्दोलन गर्न आवश्यक छैन। महानगरपालिका तपाईंहरूको समस्याको समाधानका लागि जिम्मेवार ढंगले कार्यरत छ । कृपया कसैको स्वार्थका लागि प्रयोग नहुनुहोस् ।’

तसर्थ, ‘संघर्ष समिति’ गठन गर्नुको सट्टा ‘सहयोग तथा सहजीकरण समिति’ गठन गरी आफ्ना माग र सुझावहरू महानगरपालिका वा सम्बन्धित वडा कार्यालयमा औपचारिक रूपमा पेश गर्न समेत उनले आग्रह गरेका छन् ।

  • २१ बैशाख २०८३, सोमबार १०:४८ प्रकाशित