नेकपा केन्द्रीय कार्यसंयोजन समितिको पहिलो बैठकका निर्णय सार्वजनिक

पार्टीमा युवा र जेनजीको सहभागिता ५० प्रतिशतसम्म पुर्‍याउने

केन्द्रभाग मिडिया

काठमाडौ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यसंयोजन समितिको पहिलो बैठकका निर्णय सार्वजनिक गरेको छ । नेकपाले शनिबार बैठकले गरेका निर्णय विभिन्न सात वटा बुँदामा सार्वजनिक गरेको छ ।

संयोजक प्रचण्डको अध्यक्षता र सहसंयोजक माधव कुमार नेपालको सञ्चालनमा सम्पन्न बैठकले पार्टीको आगामी एकता महाधिवेशनको कार्यतालिका र साङ्गठनिक सुदृढीकरणको मार्गचित्र तय गरेको हो ।

बैठकले आगामी ११ मंसिर देखि १५ मंसिरसम्म काठमाडौंमा पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । त्यसअघि आगामी जेठ मसान्तभित्र सबै जनवर्गीय संगठन र स्थानीय तहका कमिटीहरूको समायोजन सक्ने र भदौदेखि कात्तिकसम्म वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशनहरू सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ ।

पार्टीले आफ्ना निर्वाचित कमिटीहरूमा युवा र नव-युवाहरूको ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने क्रान्तिकारी निर्णय समेत लिएको छ । यसैगरी, बैठकले फागुनमा सम्पन्न निर्वाचनको समीक्षा प्रतिवेदन पारित गर्दै संविधान संशोधनका लागि सुझाव दिन ११ सदस्यीय कार्यदल गठन गरेको छ ।

देव गुरुङ, प्रकाश ज्वाला, रेखा शर्मा, खिमलाल देवकोटा लगायत सदस्य रहेको उक्त कार्यदलले संविधानका सबल र दुर्बल पक्षबारे सुझाव दिनेछ ।

पार्टीले १९ वटा समसामयिक प्रस्ताव पारित गर्दै सिंगो कम्युनिष्ट आन्दोलनको पुनर्गठन र एकीकृत पार्टी निर्माणका लागि विशेष पहल गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

  • १९ बैशाख २०८३, शनिबार १४:५४ प्रकाशित