देउवा समूहको भेला सकियो, ११ बुँदे निर्णय

'क्रियाशील सदस्यता नेताको लहडमा खारेज हुँदैन '

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला ११ बुँदे निर्णय गर्दै सकिएको छ ।गत बुधबारदेखि ३ दिनसम्म महाराजगञ्जस्थित स्मार्ट होटलमा चलेको भेलाले ११ बुँदे निर्णय गरेको हो ।

कांग्रेस विशेष महाधिवेशन र नियमित महाधिवेशनको विवादमा पर्दा निर्वाचनमा ऐतिहासिक क्षति व्यहोर्नुपरेको निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गरेर उल्लेख गरेका छन् ।

‘पार्टीको नियमित १५औँ महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषयले हाम्रो पार्टी नेपाली कांग्रेस निर्वाचनको पूर्व सन्ध्यामा विवादको भुमरीमा फसेको र यसैका कारण ऐतिहासिक क्षति व्यहोर्नु परेको कुरा स्पष्ट नै छ’ खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको क्रियाशील सदस्यता कनै पनि नेताको लहडमा खारेज नहुने बताएको छ । बुधबारदेखि ३ दिनसम्म काठमाडौँको महाराजगञ्जस्थित स्माट होटलमा भएको भेलाले ११ बुँदे निर्णय गर्दै पार्टीको क्रियाशील सदस्यता नेताको लहडमा खारेज हुन नसक्ने बताएको हो।

बिहीबार बैठकपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा कुनै नेताको आवेग, उत्तेजना वा लहडका भरमा पार्टीका योद्धा र सहिद परिवारको भावनासँग जोडिएको सदस्यता खारेज हुन नसक्ने उल्लेख छ।

पार्टीभित्रको विवाद र महाधिवेशनको विषयबारे छलफल गर्न बसेको भेलाले गत पुसमा सम्पन्न भएको विशेष महाधिवेशनलाई ‘कथित’ को संज्ञा दिएको छ।

खड्काद्वारा जारी विज्ञप्तिमा एकपक्षीय रूपमा आयोजना गरिएको भनिएको विशेष महाधिवेशन र त्यसबाट घोषित कार्यसमितिलाई पनि ‘कथित’ को संज्ञा दिएका छन् । निर्वाचन आयोगले बहुमतका आधारमा उक्त समितिलाई मान्यता दिने निर्णय गरेकोमा असन्तुष्टि जनाउँदै खड्काले उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको उल्लेख गरेका छन्।

‘विशेष महाधिवेशनको माग गर्ने हस्ताक्षरकर्ताहरूको नेतृत्वमा गरिएको एकपक्षीय भेला र त्यसलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय विधान, संविधान र कानुन विपरीत छ ,’ खड्काले विज्ञप्तिमा लेखेका छन् । केन्द्रीय समितिले समितिले १५औँ महाधिवेशनका लागि वितरण र नवीकरण गरिएका क्रियाशील सदस्यता खारेज गर्ने भनी दिएको अभिव्यक्तिप्रति खड्काले आपत्ति जनाएका छन् । ‘निर्दलीय पञ्चायती व्यवस्थामा ज्यान हत्केलामा राखेर लिएको सदस्यता कुनै नेताको हारजीतसँग मात्र होइन, लोकतन्त्रको लडाइँ र सहिदको सम्मानसँग जोडिएको छ,’ खड्काले विज्ञप्तिमा लेखेका छन्।

खड्काले महाधिवेशनको वैधानिक व्यवस्थाबाहेक कसैले पनि सदस्यता खारेज गर्न नसक्ने र १५औँ महाधिवेशन नै नभई फेरि नवीकरणको कुरा गर्नु पूर्वाग्रही र आपत्तिजनक भएको बताएका छन्।

  • १७ बैशाख २०८३, बिहीबार १५:०५ प्रकाशित