काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले दिउँसो १२ बजे सिंहदरबार स्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाएका हुन् ।
सरकारले संवैधानिक परिषद् सम्बन्धी र सहकारी सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि त्यसबारे धारणा तय गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको हो ।
कांग्रेस संसदीय दलका नेता आङदेम्बेका स्वकीय सचिव एम ढुंगानाका अनुसार विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीलाई बोलाइएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयले भने अध्यादेश अध्ययनका क्रममा रहेका बताएको छ ।













