कांग्रेस अनुशासन समितिको बैठक बस्दै : पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने तयारी

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ । अनुशासन समितिको सोमबार (आज)दिउँसो ३ बजे बस्ने बैठकबाट खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने तयारी भएको हो ।

अनुशासन समितिका संयोजक तारामान गुरुङले बैठकबाट खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता हुने सङ्केत गरे । ‘उहाँहरूले सर्वोच्च अदालतले गरेको फैसला मान्ने भएपछि त हाम्रीले सोधेको स्पष्टीकरणबारे पनि छलफल गर्नुपर्ने अवस्था देखिएको छ,’ गुरुङले भने, ‘त्यसैका लागि दिउँसो समितिको बैठक बोलाएको छु ।’

उनले खड्काको स्पष्टीकरणका सम्बन्धमा सभापति गगन थापाले समितिका सदस्यहरूसँग कुराकानी गरेको पनि बताए । तर, आफू भने आइतबार अलि छिटो पार्टी कार्यालय सानेपाबाट बाहिरिएकाले कुराकानी हुन नपाएको बताए ।

खड्कालाई वैशाख २ गते बसेको अनुशासन समिति बैठकले पार्टीको लेटरप्याड दुरुपयोग गरी नभएको पद उल्लेख गरेर विज्ञप्ति निकालेको भन्दै सात दिने स्पष्टीकरण सोधेको थियो ।

  • ७ बैशाख २०८३, सोमबार १०:५६ प्रकाशित