काठमाडौं ।
संघीय संसदलाई पेपरलेस प्रणालीतर्फ लैजाने तयारी गरिँदैछ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले यस्तो जानकारी दिएका हुन् ।सभामुख अर्यालसँग सोमबार संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) की आवासीय प्रतिनिधि क्योको योकोसुकाले भेट गरेका थिए ।
सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख अर्यालले डिजिटलाइजेशन तथा ई–पार्लियामेन्ट निर्माणमा आफ्नो विशेष चासो रहेको बताउँदै संसदलाई पेपरलेस प्रणालीतर्फ लैजाने तयारी भइरहेको जानकारी दिएका हुन् । समझदारीपत्रको अध्ययनपछि सहकार्यको मोडालिटीबारे थप छलफल गरिने पनि उनले बताए ।
यूएनडीपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले संसदहरुको क्षमता विकास, महिला सशक्तीकरण तथा सीमान्तकृत समुदायको उत्थानका क्षेत्रमा सहकार्य विस्तार गर्न इच्छा व्यक्त गरे । साथै डिजिटल संसद निर्माण, समितिहरूसँग सहकार्य तथा अनुभव आदान–प्रदान कार्यक्रममार्फत सहयोग गर्न तयार रहेको जनाए ।
सभामुखले महिला सांसदहरूको क्षमता विकासका लागि सहकार्य आवश्यक रहेको बताउँदै उपयुक्त मोडालिटी तय गर्नुपर्नेमा जोड दिए । उक्त भेटमा संघीय संसद सचिवालयका सचिव डा। रोजनाथ पाण्डे लगायतका अधिकारी तथा यूएनडीपीका प्रतिनिधिहरू सहभागी थिए ।













