पोखरा ।
नेपालले एसीसी यू–१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको छ । सिंगापुरलाई २ विकेटले हराउँदै नेपाली टोलीले लगातार दोस्रोपटक उक्त उपाधि हात पारेको हो । अघिल्लो संस्करणमा पनि नेपालले मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो ।
शनिबार भएको फाइनल खेलमा सिंगापुरले दिएको १ सय १४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि जय थापा २४ र अभय यादव १० रनमा अविजित रहे । नवौँ विकेटका लागि जय र अभयले २५ रनको साझेदारी गर्दै नेपाललाई जिताएका हुन् ।
विकेट किपर शिवांश बजगाईंले २० रन बनाए भने शुभम् खनालले १८ रन थपे । प्रसिद्ध जैसीले १७ तथा परिमार्जन यादवले १३ रन बनाए । रौनक श्रीवास्तव शून्य र सुगम बुढाथोकी १ रनमा आउट भए ।
छैटौँ ओभरमा शिवांश र रौनकलाई गुमाएपछि नेपाली युवा टोलीलाई दबाब परेको थियो । २५औँ ओभरमा विपिनप्रसाद शर्मा र सचिन भट्टा आउट भएपछि नेपाली युवा टोलीलाई थप दबाब सिर्जना भएको थियो ।
त्यसअघि मलेसियाको वांगीस्थित वाईएसडी यूकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा १ सय १३ रन बनाउँदा अलआउट भयो ।
सिंगापुरलाई सस्तैमा रोक्न नेपालका अभय यादव र सुशिल बहादुर रावलले समान ३ विकेट लिए । विपिनप्रसाद शर्माले १० ओभरमा ३ मेडन राख्दै १४ रन खर्चेर एक विकेट आफ्नो नाममा गरे । अभयले १० ओभरमा २ मेडन राख्दै ३४ रन खर्चे । शुभम खनालले दुई विकेट झारे ।
सिंगापुरका लागि रोहन अरुणले बनाएको २३ रन नै सर्वाधिक रह्यो। उनले ८४ बलमा २ चौका प्रहार गरे । कप्तान रियान नायक १५ रन बनाउँदै क्याच आउट भए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।