‘हटपट चाउचाउ र रङ्गिला दालमोठ ‘ गुणस्तरहीन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालमा उत्पादन हुने एउटा पिरो चाउचाउ र दालमोठमा खाद्यस्तर गुणस्तरहीन पाइएको छ ।

पोखरा नुडल्स प्रालिले उत्पादन गर्ने हटपट चाउचाउको ब्याच नम्बर १२७ यु २ को उत्पादनमा न्यूनस्तरको खाद्य पदार्थ पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

यस्तै रिजाल फुड एण्ड वेभरेज प्रालि चितवनले उत्पादन गर्ने रङ्गिला दालमोठको ब्याच नम्बर जी ०७ को दालमोठ पनि गुणस्तरहीन पाइएको विभागले जनाएको छ ।

विभागले बजार अनुगमबाट सङ्कलन गरिएको खाद्य पदार्थको नमुना राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाका सार्वजनिक खाद्य विश्लेषक समक्ष पेस गरिएको थियो ।

खाद्य विश्लेषक मार्फत परीक्षण गर्दा खाद्य पदार्थ न्यूनस्तर भएको पाइएको खाद्य निरीक्षक अधिकारी नवराज आचार्यले जानकारी दिए ।आचार्यका अनुसार बिक्री वितरण रोक्का गरी उक्त ब्याच नम्बरका सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता ल्याउन विभागले निर्देशन दिएको छ ।

विभागले यसको विषयमा थप कारबाहीबारे भने खुलाएका छैन । विभागले उद्योगहरूले बजारबाट गुणस्तरहीन उत्पादन फिर्ता गरेर जानकारी दिएपछि यसबारे थप खुलाउने बताएको छ ।

  • २० असार २०८२, शुक्रबार १५:२४ प्रकाशित