हाम्रो पालिका

‘भीरकोटका जनतासंग गरेको बाचा पाँच वर्षमा सबै पूरा हुन्छन्’

केन्द्रभाग मिडिया

भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्मचार्यले तीन वर्ष अगाडि जनतामा जाँदा आफूले गरेको बाचा पुरा गर्न प्रतिवद्ध भएर लागेको बताएका छन् । आँधीखोला तटबन्ध गर्ने, बयरघारीबाट बानेथोक देउराली वडा कार्यायसम्म र मोहन डाँडा हुँदै पर्वत जोड्ने बाटो बनाएर कम्तिमा ठूलो भञ्ज्याङसम्म कार चढेर अर्को निर्वाचनमा पुग्ने बाचा उनले भुलेका छैनन् । यी र यस्ता योजना सम्पन्न गर्न आफू लागि परेको उनले बताए । प्रस्तुत छ, केन्द्रभाग डटकमको ‘हाम्रो पालिकाका लागि पत्रकार गोविन्द सुवेदीसंग भीरकोटका प्रमुख कर्माचार्यले गरेको कुराकानी ।

भीरकोटको आफ्नै इतिहास छ । यद्यपी झट्ट सुन्दा भीर भन्ने बुझाई छ । यसको बारेमा बताइदिनुहोस् न ?

यो त्यस्तो भीर त छँदैछ । भीरकोट भनेको के भन्नुहोला भने बाइसे चौविसे राजा राजा तारक शाहको राज्य हो यो भीरकोट राज्य । जुन अहिलेसम्म पनि भीरकोट दरबार छ । त्यसैको नामबाट यसको नामाकरण भएको हो ।

तपाइँ निर्वाचित हुनुभएको तीन वर्ष पूरा भइसकेकेको छ । निर्वाचनमा जनतासंग गरेका बाचा कति पूरा गर्नुभयो ?

हामीले वितेको तीन वर्षमा धेरै नै काम गरेका छौं जस्तो लाग्छ । यो नगरपालिका जनसंख्याको हिसावले र वडाको हिसावले पनि सानो छ । यहाँ ९ वटा वडा छ । करिव २६ हजार जनसंख्या भएको कारणले केन्द्रबाट प्राप्त हुने अनुदान पनि त्यहि हिसावले प्राप्त हुनेगरेको छ । थोरै रकम प्राप्त गरेका हुन्छौं । मलाई के विश्वास छ भने तीन वर्षको दौरान जेजती काम गरेका छौं राम्रै गरेका छौं ।

निर्वाचनका बेला मैले तीन वटा प्रतिवद्धता जनाएको छु । जनतामा जाँदा बाटो र तटबन्धको बारेमा बोलेको छु । बयरघारी देखि बानेथोक देउराली वडा कार्यालयसम्म अर्को निर्वाचनमा भोट माग्न आउँदा कार चढेर आउँछु भन्ने बाचा गरेको थिएँ । त्यो पूरा गर्छु ।

अर्को हामीले मोहनडाँडा देखि पर्वत जोड्ने बाटो छ । त्यसको पनि ठूलो भञ्ज्याङसम्म पाँच वर्षमा कार चढेर आउँछु भनेको थिएँ, त्यो पनि पुरा गर्छौं । आँधीखोला र जमिनको सतह बराबर छ । आँधीले हरेक वर्ष वर्षामा कृषि योग्य जमिन कटान गरेको छ । यसकारण जनताले दुुःख पाएका छन् । अहिले तीन वर्षमा धेरै तटबन्धन गरेका छौं । यो वर्ष दोहोरो साढे दुई किलोमिटर तटबन्ध गरेका छौं । अझै तीन किलोमिटर जति तटबन्धन गर्न बाँकी छ । यो वर्ष त्यति दुख नदेला । यद्यपी वर्षा हो । तरपनि भएको काममा सन्तुष्ट छु । अब बाँकी अबधिमा त्यो पनि पूरा गर्छौ भन्नेमा विस्वस्त छु ।

आँधीखोला स्याङ्जा जिल्लाको लाइफलाईन हो भन्ने गरिन्छ । तपाइँले यसको कत्तिको उपयोग गर्न सक्नुभएको छ ?

आँधीखोला हाम्रा लागि बर्दान पनि भएको छ र अभिसाप पनि बनेको छ । बयरघारी देखि छांङछाङदी सिंचाई योजना बनेको छ । पारीतर्फ सिमलचौर आँधी खाल्टा र पकानसम्म सिंचाइँ योजना लैजाने योजना हो । तर, सकिएको र्छैन । त्यहाँका जनता पीडित हुनुहुन्छ र बोलेको काम पूरा नभएकामा म दुःखी छु । तीन करोड रुपैयाँ भए पारी र वारी दुबैतर्फ काम हुन्थ्यो । त्यो भयो भने आँधीखोला बर्दान नै हुन्छ ।

भीरकोट नगरपालिका रहेको स्याङ्जा क्षेत्र नम्बर-२ बाट विगत र वर्तमानमा निर्वाचित हुनुभएकाहरु मन्त्री बन्नुभयो । पार्टीमा पनी पहुँच भएकै हुनुहुन्छ । प्रदेशमा पनि तयस्तै प्रभाव छ । यहाँले केन्द्रबाट बजेट पार्न सकिएन भन्ने गुनासो गर्नुभयो । हजुरहरुको समन्वय राम्रो छैन ?

सम्बन्ध र समन्वय राम्रै छ । तर पार्टीको नै हिसाव गर्ने हो भने पार्टीकै उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह हुनुहुन्छ । हामीले ८/१० करोड दिनुहोस भनेर अनुरोध गर्यौं । जम्मा २५ लाख पायौं । केन्द्रमा जुनसुकै मन्त्रालयमा गयो भनेपनि पैसा छैन भन्नुहुन्छ । हिजो हाम्रो आदरर्णीय नेता गोपालमान श्रेष्ठ हुँदा खाँधीखोलामा पुल नै पुल बनाउनुभएको छ । उहाँको पालामा स्याङ्जाको विकास राम्रोसंग गर्नुभयो । अहिले उहाँ पावरमा हुनुहुन्न । पद्माजी मन्त्री हुँदा स्याङ्जामा हामीले विकासका लागि खासै योगदान देखेनौं । उहाँको पालामा हाम्रो पालिकाको काम नै रोकियो । मोहनडाँडा हुँदै पर्वत जोड्ने बाटोको काम नै रोकियो ।

अहिले माननीय धनराज गुरुङ हुनुहुन्छ । उहाँले मोहनडाँडा देखि पर्वत जोड्ने बाटोका लागि ३ करोड रुपैयाँ बजेट पार्दिनुभएको छ । ठेक्कालाई निरन्तरता दिन पाएका छौं । त्यसको लागि म धन्यवाद दिन चाहन्छु । त्यसैगरी गण्डकी प्रदेशका पूर्व सामाजिक तथा शिक्षामन्त्री मेखलाल श्रेष्ठले पनि यहाँको विकास निर्माणको पहल गर्नुभएको छ । गत वर्ष र अहिले आफू पावरमा नभएपनि सहयोग र सल्लाहले राम्रो बजेट पाएका छौं । उहाँकै पहलमा बयरघारी देखि विरुवासम्मको बाटोका लागि ३ करोड रुपैयाँ परेको छ ।

संविधानले नै स्थानीय तहलाई क्षेत्राधिकार तोकेर अधिकार दिएको छ । यहाँ आफै कार्यकारी हो तर, केन्द्रकै मुख ताक्नु पर्नाको कारण ?

नेपालको संविधानले केन्द्र, प्रदेश र स्थानीय तह अझ स्थानीय सरकार भन्छ । तर यथार्थमा त्यस्तो छैन । केन्द्रले आफ्नो अधिकार प्रदेशलाई र प्रदेशले स्थानीय तहलाई दिन चाहँदैन । हाम्रो आम्दानीको श्रोत भनेको एउटा आँधीखोला हो । त्यसको खासै योगदान हुन सकेको छैन । अर्को हाम्रो आम्दानीको स्रोत भनेको क्रेजि भाइब्रेसन मेसिन छ । त्यसले फुटाल्ने होइन चाल्ने हो । खासै हाम्रो १ डेढ करोड भन्दा बच्दैन । घर बहालको हो । सिद्धार्थ राजमार्गमा हामीले घर बहाल कर लिन निस्सा दिन सक्दैनौं । त्यही भएर प्रदेश र केन्द्रको मुख ताक्नुपर्ने बाध्यता हो ।

भीरकोट दरबारको कूरा गर्दै हुनुहुन्थ्यो । पुरानो संरचना र सम्पदाको संरक्षणमा कत्तिको ध्यान दिनुभएको छ ?

भीरकोट दरबारको सवाल यस्तो छ । राजा ताराबहादुर शाहका शाखा सन्तान हुनुहुन्छ । अनिल शाहको ठूलो बुवाको नाममा यो दरबार छ । उहाँ ऋषिकेश साहको छोरा अमेरिका बस्नुहुन्छ । भीरकोट दरबारलाई नगरपालिकाको सम्पत्ति बनाएर संरक्षण गर्न पहल गरेका छौं । उहाँसंग सम्पर्क गर्न सकेका छैनौं । गडहरे गुफा नेपालको ठूलो गुफा दाबी गरेका छौं । पूर्वमेयर छायाराम खनालले यसको संरक्षण र प्रचारका लागि निकै पहल गनुभयो । तर उचित प्रचारप्रसार गर्न सकेका छैनौं । पूर्वाधार मात्र होइन, शिक्षा, स्वास्थ्य कृषिमा पनि हामीले राम्रो काम गरेकै छौं ।

संघीयताको मर्म अनुरुप स्थानीय स्तरमै विकासका केन्द्रहरु बन्न सकुन । रोजगारी स्थानीय स्तरमै प्रदान होस र मानिसलाई अबसरका लागि बाहिर जान नपरोस् भन्ने हो । बसाइँसराई कत्तिको रोक्न सफल हुनुभएको छ ?

बसाइँसराइँ रोक्न सकिएको छैन । गाउँ गाउँमा जनताले खेती लगायो बाँदरले भ्याइदिएको छ । बरु बसाई नै सरेर गयो भने ढुवानी खर्च त बच्छ भनेर पनि बसाइँ सरेका छन् । नेपाली जनता आर्थिक कारणले समस्यामा छन् । जसका कारण विदेशीने क्रम बढेकै छ । श्रीमान जहाज चढेपछि श्रीमति बालबच्चा लिएर सहर झर्छन् । सहरमा लगेर पढाउँछु भन्दा मान्न नै पर्यो । बाँदरका कारण पनि बसाइँ सर्नुपर्ने अवस्था छ । यसको नियन्त्रणका लागि केन्द्री कृषिमन्त्रीसंग कुरागर्दा स्याङजामात्र नभएर ३८ जिल्लामा समस्या छ भन्नुहुन्छ । यीनै कारणले बसाईसराईँ रोक्न सकिएको छैन ।

आगामी आर्थिक वर्षका लागि ल्याउने नीति कार्यक्रम र बजेटमा के कूरालाई प्राथमिकतामा राख्नुभएको छ ?

कृषिमा हामीले फोकस गरेका छौं । हेफर भन्ने संस्थासंग सहकार्य गरेर तीन कराण लागनी गर्ने योजनामा छौं । दूधमा आत्मनिर्भर बन्न भैंसीमा र मासुमा आत्मनिर्भर हुन बाख्राम लागानी गर्दैछौं । तरकारी खेतीमा आत्मनिर्भर बन्न खोजका छौं । अबको दुई वर्षमा केही न केही रिजल्ट निकाल्ने योजनामा छौं । जसले गर्दा भीरकोटमा केही छ भन्ने बनाउँछौं । हामीसंग बजेट सिमित छ । जनताको चाहना कम छ । बजेट पनि याति भनेर छुट्याइन्छ । तर माघ फागुनमा केन्द्रले यति प्रतिशत बजेट कटौती भनेर लेखेर पठाउँछ । जसे गर्दा योजना अलपत्र पर्ने अवस्था हुनेगरेको छ । बजेटलाई सानोसानो टुक्रामा नबाँडौं भनेका छौं । नौ वटै वडामा कच्चि बाटो छ । जनता घरघरमा बाटो आओस भन्ने चाहन्छन् । त्यही अनुसार बाटो बनाउनुपर्ने हुन्छ । वडाले ५० हजार देखिका बजेट बनाउनुपर्छ । हामीले चाहेको देखिने काम गरौं भन्ने हो । तर जनताको सानोसानो आवश्यकता पूरा गर्नपर्ने हुन्छ ।

बजेट बनाउँदा उत्साहित हुने तर योजना नै सम्पन्न गर्न नसक्ने समस्या देखिन्छ । भीरकोटको अवस्था कस्तो छ ?

भीरकोट नगरपालिका जति रकम भएपनि खर्च गर्न सक्छ । भीरकोटमा चैतमा लगभग योजना सक्छौं । भदौदेखि असौजसम्ममा सम्झौता सकि सक्छौं । हाम्रो बजेट फिर्ता हुने भन्ने नै हुँदैन । अहिलेसम्म ९० प्रतिशत काम र भुक्तानी नै भएको छ भनेपछि आँफै बुझ्नुहोस् ।

आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा के कुरालाई प्राथमिकतामा राख्नुभएको छ ?

आगामी आर्थिक वर्षमा पहिला त हामी जनताको घर जाने बाटोलाई नै महत्व दिएका छौं । हामी शिक्षा, स्वास्थय र कृषिलाई नै महत्व दिएका छौं ।

माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय सरकारलाई छ । यहाँहरुले शिक्षामा कस्तो उपलब्धी हाँसिल गर्नुभएको छ ?

हरेक पालिकामा विद्यार्थीको संख्या घट्दै गएको छ । हाम्रोपनि त्यो समस्या छ । भीरकोटमा दुई वटा क्याम्पस छ । विद्यार्थी थोरै छन् । माथिबाट अनुदान थोरै आउँछ । भौतिक संरचना पनि छ । तर विद्यार्थी थोरै भएपनि शिक्षक चाहियो । उनीहरुलाई तलब खुवाउन समस्या छ । नगरपालिकाले पैसा हाल्दा बेरुजु आउने अवस्था छ ।

यहाँहरु कम गर्यौं भन्ने तर जनता जनप्रतिनिधिसंग सन्तुष्ट नहुने यो कस्तो अवस्था हो ?

जनता जति गरेपनि सन्तुष्ट हुँदैनन् । जनताले विदेश हेर्छन् । हामी कहाँ यो सम्भव छैन । श्रोतसाधन र बजेट थोरै हुन्छ । गर्नुपर्ने काम धेरै हुन्छ । आँधीखोला तटबन्ध गर्न पाँच करोड चाहिन्छ । एकैचोटी गर्न सक्दैनौं । अनि आलोचना भइहाल्छ । यसलाई स्वभाविक मान्नुपर्ने अवस्था छ । भीरकोटको जनतालाई कसरी राम्रो गर्न सकिन्छ भनेर लागेका छौं । तर, श्रोत थोरै छ । पाँच लाख चहिने ठाउँमा एक लाख चाहिने ठाउँमा एक लाख राख्न सकेका छैनौं ।

समयको अन्त्यमा भीरकोटवासीलाई केही भन्नुहुन्छ ?

सम्पूर्ण भीकोटवासी बुवाआमा दाजुभाई दिदिबहिनीलाई म भन्न चाहन्छु । तीन वर्षमा धेरै नै काम गरेका छौं । बोलेको कूरा पाँच वर्षमा जसरीपनि सक्ने छौं । काम गरेर कहिल्यै सकिँदैनौं । सकारात्मक सोच्नुहोस् । हामी हजुरकै लागि हो भन्न चाहन्छु ।

 

  • ९ असार २०८२, सोमबार १९:४७ प्रकाशित