गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले कृषि र पशु व्यवसाय मार्फत गल्याङवासीको जीवनस्तर माथि उठाउने काम भइरहेको बताएका छन् । शिक्षा, स्वास्थ्य, कृषि, पशु र भौतिक पूर्वाधारलाई बराबर प्रथमिकता तर शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथिमकता दिएर गल्याङको विकासमा जुटेको उल्लेख गरेका उनले आफू निर्वाचित भएपछिको तीन वर्षको अबधीमा जनतालाई खुशी पार्नेगरी नै काम गरेको दाबी गरे । प्रश्तुत छ केन्द्रभाग डटकमका लागि पत्रकार गोविन्द सुवेदीले गरेको कुराकानी ।
- यहाँ निर्वाचित हुनुभएको तीन वर्ष पूरा भइसकेको छ । आफैले आफैलाई र नगरपालिकालाई मुल्यांकन गर्दा कहाँ पाउनुभएको छ ?
हाम्रो जस्तो ग्रामिण भेगको पालिकाहरुमा बजेटको अभाव, नमिलेको पहाडी भूगोल र विकट बस्तीहरु रहेका हुनाले पूर्वाधारका थुप्रै संरचनामा काम गर्नुपर्ने हुन्छ । हामीलाई विकास गर्नुपर्ने अवस्था र बजेटको तुलना गर्ने हो भने हाम्रो बजेटले आवश्यकताको ५ प्रतिशत पनि सम्बोधन गर्न सक्दैन । यसको सहि प्रयोग र उपयोग गरेर हाम्रा करिव ४ सय बस्तीलाई मूख्य गरेर शिक्षा, स्वास्थ्य, बाटोघाटो खानेपानी, सिंचाई लगायत चेतनामुलक कार्यक्रम र कृषि पशु उद्यमशिलता मार्फत यहाँको जीनस्तर उठाउने प्रयास गरेका छौं ।
- निर्वाचनमा जाँदा सबै गर्न सक्छु भन्नेजस्तो लागेको थियो होला । यहाँको अनुभावमा काम गर्न अप्ठ्यारो पार्ने केले रहेछ ?
स्वभाविक हो । कतिपय सन्दर्भमा हाम्रो परम्परागत ढाँचा शैली, प्रवृति र चरित्र प्रति आक्रोस व्यक्त भइरहेका छन । मैले यसलाई स्वभाविक मानेको छु । म कांग्रेसबाट टिकट लिएर जनताले निर्वाचित गरेको साझा जनप्रतिनिधि हुँ । स्रोतसाधनको अभाव, नेतृत्व र जिम्मेवारीमा रहेका हामीले आफ्नो अनुशासन, लगनशीलता र मेहनता गर्दा धेरै उपलब्धि हाँसिल गर्न सक्नुपर्ने अवस्था थिए । यद्यपी जति उपलब्धि विगतमा हाँसिल गर्न सक्नुपर्ने हो, त्यो नसकेको विगत प्रति जनआक्रोस छ ।
त्यसलाई व्यवस्थापन गर्नेगरी हामीले अगाडि बढेका पनि छौं । चुनावका बेला मैले जे प्रतिवद्धता गरेको थिएँ । त्यो संख्यामा यति यभन्दापनि हाम्रा आधारभूत आवश्यकता पनि पूरा गर्न नसकेको अवस्थामा छौं । बलियो आधारभूत आवश्यकताको सम्बोधनसंगै त्यसपछिको विशेष प्राथमिकताको क्षेत्रलाई अगाडि बढाउने भन्ने कुरामा मेरो प्रतिवद्धता हो । मैले प्रतिवद्धता जनाएका अधिकांश कामहरुमा सफलता हाँसिल गरेको छु भन्ने लाग्छ ।
- जनप्रतिनिधिलाई सबै गरेको छु जस्तो लाग्ने तर जनताको नजरमा केही भएन, गरेन भनेजस्तो देखिन्छ तपाइँ आफै कति सन्तुष्ट ?
म आफूले गरेको काम प्रति पूर्ण सन्तुष्ट छु । मैले आफ्नो समय, योग्यता, क्षमता र मेहनतले गर्नुपर्ने काम गरेको छु । मैले काठमाडौं, पोखरा वा बुटवलसंग तुलना गरेर हुँदैन । ति अर्बौं बजेट हुने महानगर, उपमहानगर र पालिकासंग तुलना गरेर भएन । हाम्रो पालिकाको जे अवस्था र हैसियत छ, त्यही अनुरुपको विकास गर्ने हो । गल्याङको चोकलाई बानेश्वरको चोक बनाउन सकिँदैन । बुटवल, पोखरा, काठमाडौंका प्रमुखले भैंसी पाठापाठी हेरेर अफिस आउनुपर्दैन । तर मैले आफ्नो भैंसी, बाख्रा पाठापाठी पनि हेरेर काम गरेर अफिस आउँछु ।
यहाँ मोवाइलमा हेरेर अस्टेलिया, टोकियो, जापान र सिड्नीको विकास खोजेर हुँदैन । हामी नेपाली हौं । ग्रामिण भेगमा हाम्रै ढंगको विकासको मोडेल तयार गर्न जरुरी छ । आयातित र महोत्वकांक्षाका कारण विगतमा समस्या देखिए । आयातित मोडल होइन आफ्नैढंगको मोडल तयार गरेर अगाडि बढ्नुपर्छ ।
- स्थान विशेषको विशेषताहरु छन् । संघीयता भनेकै स्थानीयस्तरको विकास र त्यहीँ सेवा प्रधान गर्ने हो । हाम्रो पालिकामा हाम्रो प्रयासले बसाइँसराई कत्तिको रोक्न सफल भएका छौं ?
यसको रिजल्ट ६ महिना वा वर्षदिनमा झट्ट देखिइहाल्ने पनि होइन । आधारभूत आवश्यकतालाई हेरेर पहिला जग बसाल्नु पर्दछ । जग नभएको ठाउँमा तीन तले विल्डिङको कुरा गरेर हुँदैन । राज्यका थुप्रै कमजोरी छन् होलान । हाम्रो क्षेमताको बीचमा विभिन्न खालका स्वरोजगारमुलक तालिम सञ्चालन गर्ने, दूध, कृषि, पशु बाख्रा, विपन्न बर्गका लागि ल्याइएको कार्यक्रम अनि त्यसबाट आउने रिजल्ट र त्यसको समिक्षा गरेर हामीले पुन लगानी गरेर ठोस परिणाम ल्यान केही कमजोरी पक्कै भएका छन् ।
तीन तहको सरकारको प्राक्टिसको कुरा गर्दा स्थानीय तहका भएका अधिकार समेत कटौतीको प्रयासहरु भएका छन् । यसले पनि केही अप्ठ्यारा पारेका छन् । संघ र प्रदेशले हिजो जुनढंगले प्रदेश र स्थानीय सरकार नहुँदा आफ्ना संरचना राखेको थियो आज अनावश्यक रुपमा ति कार्यालयहरु पुनस्थापित गरिएका छन् । यो गलत छ । यसले अनावश्यक अनुत्पादक रुपमा राज्यलाई भार मात्र बढाएको छ । यसले पनि अनावश्यक खर्चको भार बढेको मैले ठानेको छु ।
- हाम्रो संविधानले प्रष्ट तोकेरै संघ, प्रदेश र स्थानीय तहको क्षेत्राधिकार तोकेको छ । तर व्यवहारमा स्थानीय तहको खुट्टा तान्ने काम भयो भन्न खोज्नु भएको हो ?
स्थानीय तहलाई दिइसकेको अधिकार पनि अब कसरी खोस्ने भन्ने खालको चिन्तन् विकास भएको देखिन्छ । स्रोतको न्युन उपलब्ध छ । त्यसको व्यवस्थापन गर्ने निकाय धेरै भयो । देशैभरको अबस्था हेर्दा ४० प्रतिशत कर्मचारी कटौती गर्नुपर्ने देख्छु । यसले रिजल्ट दिएको छैन । संघ र प्रदेशले स्थानीय तहलाई नियन्त्रण गर्ने किसिमले अगाडि बढ्दा विकास निर्माणमा नै बाधा पर्ने अवस्था बनेको छ । यसको मतलब स्थानीय सरकारलाई सबै कुरा छोड्नुपर्छ भनेको होइन । माथि संघ र प्रदेशका मन्त्रीहरु र सचिवहरु तारे होटलमा बसेर गरेका निर्णयको रिजल्ट राम्रो देखिएको छैन । बरु स्थानीय तहमै गरिएका मेहनतले प्रतिफल प्राप्त भएका छन् ।
- यहाँहरुसहित देशभरका स्थानीय तहहरुले आफ्नो नीति कार्यक्रम र बजेट ल्याउने क्रम सुरु भएको छ । ल्याउँदा उत्साह तर कार्यान्वयनमा निरासा देखिन्छ । किन विकास बजेट कम खर्च हुने अवस्था भयो ?
यहाँले भनेको स्वभाविक नै छ । अन्यत्र विकास बजेट खर्च नभएका, कार्यक्रम ५०/६० प्रतिशत मात्र खर्च भएका भन्ने सुनिन्छ । तर हाम्रो पालिका (गल्याङ)मा त्यस्तो छैन । हामीले पहिलो वर्ष ८९ प्रतिशत कार्यक्रम सम्पन्न गर्यौं । त्यसपछि पनि हाम्रो ९० प्रतिशतको हाराहारीमा कार्यक्रम सम्पन्न हुनेगरेको छ । हामीले बजेट कार्यान्वयन गर्दा बजेट नपुगेर आगामी वर्षमा भुक्तानी गर्नुपर्ने अवस्था छ ।
- यसपालीको प्राथमिकतामा के ?
मुख्यगरी शिक्षा, स्वास्थ्य, कृषि, पशु र भौतिक पूर्वाधारलाई बराबर प्रथमिकता तर शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथिमकतामा राखेको छु । गल्याङ बजारसंग जोडिएका छोटा वा लामो दूरीका धेरै सडक छन् । संघ, प्रदेशको सहकार्य र हाम्रो उचित व्यवस्थापनमा अगाडि बढाउनुपर्ने छ । हाम्रो पालिकामा ३÷४ सय किलोमिटर बाटो छ । ती बाटोलाई १२ महिना नै चलाउनका लागि गर्नुपर्ने काम गरेका छौं । गल्याङसंग जोडिएका सडकलाई कालोपत्रे गर्ने र ढलान गर्ने योजनामा छौं ।
हाम्रा तीन साढे तीनसय ग्रामिण बस्तीमा ६५ हजार मिटर गोरेटो बाटो निर्माण गरेका र्छौं । साना ठूला सिंचाई योजना अगाडि बढाएका छौं । एक घर एक धारा कार्यक्रम संघीय सरकारले अगाडि बढाएको कार्यक्रम छ । यो सम्पन्न गराउन लागेका छौं । गल्याङ बृहत खानेपानी योजना नयाँ योजना पार्न सफल भएका छौं । त्यो मार्फत मेरै कार्यकालमा ९० प्रतिशत घरधुरीमा खानेपानीको समस्या समाधान हुन्छ । हामीले ८५ पालिका मध्ये शिक्षामा धेरै लगानी गर्नेमा हामी दोस्रो रहेछौं ।
- शिक्षालाई पहलिो प्राथमिकतामा राखेर काम गरेका छौं भन्नुभयो । यसको रिजल्ट कस्तो छ ?
यसको रिजल्ट आउन ८/१० वर्ष लाग्छ । हाम्रो गल्याङको विद्यार्थीले बुटवल, पोखरा र महंगा विद्यालयमा पढेका विद्यार्थीसंग पनि प्रतिस्पर्धा गर्न सक्छन् भन्ने देखिएको छ । हामी आफ्नो स्थानीय पाठ्यक्रम निर्माणको अन्तिम चरणमा छौं ।
- गल्याङ नगरपालिकाले यो कुरालाई अगाडि बढाएका छौं भन्ने के हो ?
हामीकहाँ भएको सम्भावना यतिबेला कृषि र पशु व्यवसाय मार्फत जिविकोपार्जन अर्थात जीवनस्तरमा सुधार गर्ने, आयात कम गने, सकभर निर्यातमा बृद्धि गर्ने जस्तो अहिले हामीले गण्डकी प्रदेशका लागि चाहिने आवश्यक आलुको बिउ मध्य ६५ प्रतिशत हामी यहाँबाट विक्री गर्छौं । त्यसोसगैं मकै र धानको वियु विक्री गछौं ।
वार्षिक तीन लाख लिटर दुध गल्याङबाट बाहिर विक्री गर्छौं । मासुजन्य उत्पादमा यो वर्ष हजारौं बाख्रा यहाँबाट विक्री गरेका छौं । गल्याङ कृषि तथा पशु उद्यमशिलता कार्यक्रम सञ्चालन गरेपछि खोरमा ५० प्रतिशत अनुदान दिएर एउटा बाख्रा पाल्दा पनि वर्षमा एउटाबाट ५ वटा देखि ७ बनेको छ । उसको एक लाख रुपैयाँसम्म आम्दानी बनेको छ । यसको मतलब कृषि र पशु उद्यमशीलता मार्फत कृषि र पशु उत्पादन बृद्धि गरेर यहाँको आर्थिक जीवनस्तर उकास्ने कुरामा हामीले जोड दिएका छौं ।
- अन्त्यमा गल्याङवासीलाई के भन्न चाहनुहुन्छ ?
हामी सकारात्मक बनौं । सकारात्मक सोच राखौं । तपाईँहरुले दिएको मत, आशिर्वाद र मायाँलाई आउने दिनमा थप उचाईमा पुर्याउने छु । मेरो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर हामीले मत दिएको जनप्रतिनिधिका कारण हाम्रो शीर निहुरिने अवस्था जनतामा कदापी आउन दिनेछैन । गल्याङलाई सफल गल्याङ बनाउन सबैको साथ र सहयोगले काम गर्नेछौं । यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु ।