रुपन्देही ।
लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शुक्रवार दिउँसो आएको हावाहुरीका कारण ५ जनाको ज्यान गुमेको छ । ८ जना घाइते भएका छन् । पानीसँगै तीव्र गतिमा चलेको हावाले रूख भाँचिदा नवलपरासीको सुनवलमा दुई जनाको दुईजनाको ज्यान गुमेको छ । तीन जना गम्भीर घाइते भएका छन् ।
सुनवल नगरपालिका वडा–७ ज्यामिरेस्थित प्रतीक्षालयमा बसिरहेका स्थानीयलाई रूख ढलेर च्यापेको थियो । घटनामा सुनवल–७ की ३० बर्सिया मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको घटनास्थलमै ज्यान गुमेको इलाका प्रहरी कार्यालय, सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार सोही वडाका ४० बर्सिया नरमती परियार, ५१ बर्सिया दुर्गेश्वरा खाम्चा र २२ वर्षीय अनिल थापा घाइते भएका छन् ।
उनीहरूको रुपन्देहीको देवदह मेडिकल कलेज उपचार भइरहेको छ । पानी परेपछि प्रतीक्षालयमा बसिरहेकाहरूलाई हावाहुरीले ढालेको रुखले च्यापेको थियो । रूख प्रतीक्षालयमाथि ढलेपछि प्रतीक्षालय नै भत्किएको प्रहरीले जनाएको छ ।
यसैगरी कपिलवस्तुको कपिलवस्तु नगरपालिका मैनिहवाकी १४ वर्षीया सुखना केवटको पनि रूखले च्यापेर ज्यान गुमेको छ । उनी तौलिहवा–लुम्बिनी सडक खण्डअन्तर्गत मैनिहवामा पर्ने बगैँचामा आँप टिप्न गएकी थिइन् । चोट लागेर घाइते भएकी उनलाई तौलिहवास्थित जिल्ला अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
तीव्र गतिमा चलेको हावाले आँपको रूखको हाँगा भाँच्चिएर खस्दा लागेपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी मोहनमणि अधिकारीले बताए ।
रुपन्देहीका विभिन्न ठाउँमा पनि हावाहुरीले क्षति पुर्याएको छ । बुटवल, देवदह, भैरहवा, मर्चवार क्षेत्रका केही घरमा हावाहुरीले क्षति पुर्याएको छ भने केही ठाउँमा रुखसमेत ढलाएको छ । हावाहुरीका कारण रुपन्देहीमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।