काठमाडौं ।
विपक्षी दल नेकपा एमालेको सचिवालय बैठकबाट निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन पास भएको छ । यसलाई अब कमिटीमा पेस गर्ने निर्णय भएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
उनका अनुसार सचिवालय बैठकले केन्द्रीय समितिका लागि आवश्यक एजेण्डाहरूको सूची पनि तयार पारेको छ । उक्त सूचीमा अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन र अध्यक्षको राजनीतिक प्रतिवेदनलगायतका विषयहरू समावेश छन् ।
पार्टीभित्र लामो समयदेखि चर्चामा रहेको कार्यदलको प्रतिवेदन र त्यसमा भएका विवादास्पद विषयहरूबारे उपमहासचिव भट्टले कार्यदलको काम सकिएको र प्रतिवेदनलाई औपचारिक रूपमा केन्द्रीय समितिमा लैजाने प्रक्रिया शुरु भएको बताए ।
‘हिजो कार्यदलले प्रतिवेदन बुझाएपछि कार्यदलको औचित्य सकिएको छ । प्रतिवेदनमा समावेश सुझावहरूलाई अब अनुसूचीका रूपमा केन्द्रिय समितिमा प्रस्तुत गरिनेछ,’ उनले भने ।
पार्टी अध्यक्षको रिजर्भेसन ९विमति० का बारेमा सोधिएको प्रश्नमा भट्टले विशेष महाधिवेशन र नेतृत्व परिवर्तनजस्ता विषयहरूमा पहिले नै सहमति भइसकेको र अहिले त्यसमा कुनै विवाद नरहेको बताए ।
२९ पृष्ठ लामो प्रतिवेदन परिमार्जनसहित पारित भइसकेकाले अब त्यसमा थप बहसको आवश्यकता नरहेको उनको भनाइ थियो ।













