एजेन्सी,
काठमाडौं ।
भारत र पाकिस्तान विनाशकारी युद्धको सँघारबाट पछि हट्न तयार भएका छन् । शनिबार अमेरिकाको मध्यस्थतामा दक्षिण एसियाका दुई आणविक शक्ति सम्पन्न छिमेकी तत्काल लडाइँ रोकेर वार्तामा बस्न तयार भएका हुन् ।
त्यसको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन् । ट्रम्पलगत्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि भारत र पाकिस्तान तत्काल युद्धविराम गरेर तटस्थ स्थानमा वार्तामा बस्न तयार भएको बताएका छन् ।
एक्समा रुबियोले लेखेका छन्, ‘भारत र पाकिस्तानका सरकार तुरुन्त युद्धविराम गरेर अनेकौँ विषयमा तटस्थ स्थानमा वार्ता सुरु गर्न सहमत भएका छन् ।’
सहमतिको पुष्टि पाकिस्तानी विदेशमन्त्री इसाक दारले पनि गरेका छन् । उनले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको बताएका छन् ।
यसैबीच भारत र पाकिस्तानबिच गोलीबारी र सैन्य कारबाही रोक्ने निर्णय दुई देशबिच प्रत्यक्ष वार्ताबाटै सहमतिका आधारमा गरिएको दाबी गरिएको छ । प्रेस ट्रस्ट अफ इन्डियाले भारतीय सरकारी स्रोतहरूलाई उद्धृत गर्दै यस्तो दाबी गरेको हो ।