भारतले पाकिस्तानमा आक्रमण गर्दा ३० जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

एजेन्सी,

काठमाडौं । भारतले पाकिस्तानमा आक्रमण गरेको छ । बुधबार बिहान गरिएको आक्रमणमा अहिलेसम्म कम्तिमा ३० जना मारिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ । पहलगाम आक्रमणको बदलामा गरिएको आक्रमणलाई ‘अप्रेशन सिन्दूर’ नाम दिइएको छ । सो आक्रमणमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाएर एअर स्ट्राइक गरिएको हो ।

पहलगाममा एक नेपालीसहित २६ जनाको आतंकवादीले हत्या गरेको १५ दिनपछि भारतले पाकिस्तानमा रहेका आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै आक्रमण गरेको हो । बुधबार बिहान करिब पौने २ बजेतिर पाकिस्तान अधिकृत कश्मीरमा एअर स्ट्राइक गरिएको हो । जसमा बहावलपुर, मुरीदके, बाघ, कोटली र मुजफ्फराबादमा आक्रमण गरिएको हो ।

पाकिस्तानका स्थानीय मिडियाका अनुसार बहावलपुरमा ३० जनाको ज्यान गुमेको छ । न्यूज एजेन्सी एएनआईका अनुसार लश्कर र जैशको मुख्यालय नष्ट गरिएको छ ।

पाकिस्तानको इन्टर–सर्भिसेस पब्लिक रिलेशन्सका डाइरेक्टर लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीका अनुसार भारतले २४ वटा मिसाइल प्रहार गरेको छ । एएनआईका अनुसार उक्त अप्रेशन सिन्दूरलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले मनिटरिङ गरेका थिए । भारतीय सेनाले पाकिस्तानी सैन्य ठेगानालाई निशाना नबनाइएको बताएको छ ।

  • २४ बैशाख २०८२, बुधबार ०९:४५ प्रकाशित