पोखरा जगदम्बा ट्राभल्सका अध्यक्ष केशव प्रसाद अधिकारी यात्रुबहाक बस सञ्चालन गर्ने देशकै ठूलोमध्यको एक पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका संरक्षक समेत हुन् । पोखरामा सोफासहितका सुविधा सम्पन्न यात्रुबहाक बस भित्र्याउने अधिकारीले अहिले आफ्नो ट्राभल्स कम्पनीमा करिव ३०० जनालाई प्रत्यक्षरुपमा रोजगारी दिएका छन् । झण्डै ८ लाखको लगानीबाट सुरु भएको उनको व्यवसायमा अहिले करिव ५० करोडको लगानी भइसकेको छ । यही क्षेत्रमा थप लगानी गर्ने सोचका साथ अगाडि बढेका उनले सञ्चालन गरेको पोखरा जगदम्बा ट्राभल्स र यातायात्र क्षेत्रमा लाग्दा भोगेका समस्या अनि सफलताको विषयमा केन्द्रभाग डटकमले सञ्चालन गरेको ‘हाम्रो यातायात’मा पत्रकार गोविन्द सुवेदीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
- अलिकति सुरुवात नै स्मरण गरौं, पोखरा जगदम्बा स्थापनाको धारणा कसरी बन्यो ?
हामी ट्रन्सपोर्टमा आउने कन्सेप्ट नै बुवाहरु (दोर्णराज अधिकारी, शंकर अधिकारी, तीर्थ अधिकारी र होमप्रसाद अधिकारी) ले ल्याउनुभएको हो । उहाँहरुले २०३६ सालमा एउटा बस सञ्चालन गर्नुभएको थियो । जुन बस सञ्चालन गर्ने बेलामा नारायणीमा पुल पनि थिएन । त्यहाँ बोटिङबाट तारेर सेवा दिनुभएको थियो । मैले एसएलसी दिएपछि २०४८ मा हाम्रो आस्थाको भगवान जगदम्बाको नामबाट हामीले कम्पनी स्थापना गर्यौं । सुरुमा ५४८ नम्बरको बस ८ लाख ७५ हजारमा किनेका हौं । यो बस हामीले जनकपुरको रुटमा चलायौं । त्यसपछि पृथ्वी राजमार्गमा हामी आवद्ध भएर बुवा (दोर्णराज अधिकारी) त्यसको कोषाध्यक्ष बन्नुभयो । हामी पनि त्यसैमा रहेर सेवा दिएका छौं । त्यसपछि हामीले सन २०१३ मा आएर सोफा बसको कन्सेप्ट ल्यायौं । क्रु सहितको बस लञ्चिङ गर्यौं । चुनौतीका बीच २१ सय रुपैयाँ भाडाबाट सञ्चालन गर्यौं । अहिले रात्री र विहान, धरान, विरगञ्ज सञ्चालन गरेर अहिले ३८ वटा बस सञ्चालनमा छन् । कोभिडको बेला ८२ वटा बस थिए ।
- स्थापनाकालमा कति जनालाई रोजगारी दिनुभयो र अहिले कतिले रोजगारी पाएका छन् ?
हामीले ५/६ जना कर्मचारीबाट सुरु गरेका थियौं । अहिले ३ सयको हाराहारीमा प्रत्यक्ष रोजगारी पाउनुभएको छ । अप्रत्यक्ष झण्डै एक हजार जनालाई रोजगारी दिएका छौं ।
- हिजो ८ लाख ७५ हजारबाट सुरु भएको लगानीलाई अहिले कति पुर्याउनुभएको छ ?
अब अहिले त लक्जरी गाडीहरु आएका छन् । त्यो बेला ५ लाख ४५ हजारमा गाडीको च्याचिस पाइन्थ्यो । त्यस्तै २/३ लाखमा बडी बन्थ्यो भने अहिले च्याचिसको मूल्य नै ७५ लाख पुगेको छ । अहिले मैले दिल्लीमा बनाउने बडी एक करोड सभा करोडका छन् । अहिले एउटै गाडीको मूल्य सरदरमा डेढ करोड पर्छ । हिजो ८/९ लाखबाट सुरु गरेको लगानी अहिले करिव करिव ५० करोड पुगेको छ । यसमा लगानीको क्रम जारी नै छ ।
- यातायातको क्षेत्रमा लागेर कतिले आफ्नो घर घडेरी नै सके, पलायन भए भन्ने पनि सुन्छौं । सफलता हाँसिल गर्न के गर्नुपर्ने रहेछ ?
तपाइँले भनेजस्तो यातायात क्षेत्रबाट विस्थापित भएका पनि छन् । घर घडेरी सकेका पनि छन् । मैले कर्ममा विश्वास गर्छु । बुवाले पहिलो गाडी ल्याउँदा म आँफै खलासी भएर काम गरेको हुँ । म गाडीमा झुण्डिएर आफै धुन्थेँ । त्यसपछि ड्राइभिङ सिकेर आफै ड्राइभिङ पनि गरेँ । अहिलेको अवस्थामा यातायातलाई चाहिने यातायतको जन्मदेखि मरणसम्मको काम म आँफैले गर्छु ।
मैले सिप्रदीसंग डिलर लिएर त्यसको च्याचिस पनि बेचेँ । जगदम्बा आयल स्टोर्स आफै सञ्चालन गरेर डिजल पनि बेच्छु । बडी स्क्राइब गरेर पनि म आँफै फाल्छु । त्यसरी काम गर्दैजाँदा यहाँसम्म आएको हो । अहिले ग्यारेज पनि आफै सञ्चालन गरेको छु । गाडी धुनेदेखी मर्मतसम्हार सबै आफ्नै छानामुनी गरेका छौं । यत्ति हो हामीले सेवालाई प्राथमिकतामा राख्नुपर्छ । बढीभन्दा बढी सुविधा दिनुपर्छ । सुविधा बेच्ने हो । सेवा बेच्ने हो । मैले भाडा लिँदा विभिन्न ठाउँबाट प्रश्न पनि नउठेका होइन् । प्रशासनसंग विभिन्न समय बस्नुपनि पर्यो । मैले पाँच तारे होटल र सामान्य टहरामा गरिने होटलको उदाहरण पनि दिनु पर्यो ।
मैले गाडीमै खाजा खुवाएको छु । यात्रुको दिशापिसाव समेत व्यवस्थापन गरेको छु । यति सुविधा दिएर यो रकम तिर्न मञ्जुर छु भनेर यात्रुलाई टिकट बेचेको छु । सेवा लिने यात्रु खुशी छ । उसले म तिर्न तयार छु भन्छ । पोखरामा ५ सय देखि एक लाख रुपैयाँमा रुम दिने होटल छन् । बसमा पनि त्यस्तै हो । सुविधा अनुरुप यात्रुलाई चित्त बुझाएर टिकट बेच्छु ।
‘डिजेल पनि कुहिन्छ भन्ने जानकारी पाएँ । त्यसको व्यवस्थापन गर्न डोजर ल्याएर खाल्डो खनेर पुर्नुपर्यो । गाडी रनिङमा ल्याउन खोज्दा नयाँ व्याट्री चार्जिङ गर्नुपर्ने, गाडीको बडी नै लेउ लागेर हरियो भएको थियो ।
त्यसको व्यवस्थापन गर्न ठूलो खर्च आयो । सञ्चालनका लागि बैंकसंग सहकार्य गर्नुपर्ने अवस्था आयो । मलाई यस्तो समस्या आयो भने जस्ले सानो लागनी गर्नुभएको थियो, उहाँहरुको अवस्था कस्तो भएको होला ?’
- यातायात सञ्चालनका क्रममा अप्ठ्याराहरु पक्कै आए, त्यसको सामना कसरी गर्नुभयो ?
यो भोगाई मैले भन्छु । पोखरा–दिल्ली नेपाल भारतमैत्री बस सञ्चालन गरेको आज १८ वर्ष भइसक्यो । द्वन्द्व कालमा भारतबाट आएको गाडी दाङमा यात्रु झारेर जलाइयो । यस्तो अवस्था पार गरेर आएको हो । पछिल्लो कूरा गर्नुहुन्छ भने विश्वलाई नै हल्लाउने महामारीको रुपमा कोभिड-१९ आयो । त्यो बेला जीवनमै नभोगेको कूरा भोग्नु पर्यो । आफ्नै ज्यान जोगानुपर्ने, स्टाफको भोको पेट भर्नुपर्ने र विरामीको उपचार गर्नुपर्ने थियो । त्यो अवस्थामा ८२ गाडीका स्टाफलाई जोगाउनुपर्ने दायित्व थियो ।
म आफू पृथ्वी राजमार्ग बस सञ्चालक समितिको संरक्षक पनि भएकाले सबैलाई सहजिकरण गरेर लग्यौं । मजदुरलाई पनि जोगाउनुपर्ने थियो । व्यवसायीलाई बैंकले धरपकड गरेको अवस्था थियो । त्यो बेला डिजेल पनि कुहिन्छ भन्ने जानकारी पाएँ । त्यसको व्यवस्थापन गर्न डोजर ल्याएर खाल्डो खनेर पुर्नुपर्यो । गाडी रनिङमा ल्याउन खोज्दा नयाँ व्याट्री चार्जिङ गर्नुपर्ने, गाडीको बडी नै लेउ लागेर हरियो भएको थियो । त्यसको व्यवस्थापन गर्न ठूलो खर्च आयो । सञ्चालनका लागि बैंकसंग सहकार्य गर्नुपर्ने अवस्था आयो । मलाई यस्तो समस्या आयो भने जस्ले सानो लागनी गर्नुभएको थियो, उहाँहरुको अवस्था कस्तो भएको होला ?
- त्यो अवस्था पार गरेर आउनुभएको यहाँ र अरु यातायात व्यवसायीको अवस्था अहिले कस्तो छ ?
अहिले आर्थिक मन्दीको अवस्था भएपनि यातायात व्यवसायी केही सस्टेनेवल भएको मैले पाएको छु । म मात्र होइन । म ठूलो संस्था (पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी) को संरक्षक पनि छु । हिजो यातायात व्यवसायीले बस दिएर जग्गा लिनुपर्ने अवस्था थियो भने अहिले जग्गा दिएर बस लिनुपर्ने अवस्था आएको छ । अन्य व्यवसायको तुलनमा यातायात ट्रान्सपोर्ट व्यवसायीले अहिले केही राहत महसुस् गरेको अवस्था छ ।
- हिजो सुरुवात गर्दाको प्रविधि र सुविधा अनि आजको प्रविधि र सुविधा बीचको भिन्नता के छ ?
हिजो गाडीमा स्प्रिङपत्ता हुन्थ्यो । गाडी जगिङ हुन्थ्यो । अहिले सन्स्पेन्सन हालेका बसहरु आएका छन् । सिटहरु लक्जरीयस छन् । सिसा बन्द गरेर एसी जडान गरिएका छन् । गाडीमै ट्वाइलेट राख्ने र खाजा खुवाउने व्यवस्था गरिएको छ । अब आउने दशैंमा जगदम्बाले सस्पेन्सन पछाडि मात्र होइन अगाडि पनि राखिएका सुविधासम्पन्न थप ६ वटा गाडी भित्र्याउँदैछ । लक्जरी कारहरु जस्तै चल्ने गाडीहरु बुक गरेका छौं । गाडी सुविधासम्पन्न भएर मात्र नहुने रहेछ । सडक पूर्वाधार पनि राम्रो हुनुपर्ने रहेछ । राम्रो सडक हुने हो भने हामीले भित्र्याएका गाडीले विश्वमै प्रतिस्पर्धा गर्ने क्षमता राख्छन् । हामीले बनाएका जति सुविधासम्पन्न गाडी भारतमा पनि सञ्चालनमा छैनन् । हामी यहाँ (पोखरा) बाट भैरहवा पुग्न एक दिन लाग्छ । तर त्यहाँबाट दिल्ली ६ घण्टामै पुग्छौं ।
- हामी देशकै पर्यटकीय राजधानी पोखरामा छौं । त्यस अनुरुपका सवारी साधन छन् की छैनन् ?
हामीले अझै सुविधासम्पन्न पर्यटन मैत्री गाडी ल्याउन सक्छौं । मैले यहाँ केही प्रस्ताव पनि गरेको छु । राज्यका सम्बन्धित निकाय र महानगरलाई पनि भनेको छु । यहाँ ओपनवाला गाडीको व्यवस्था गरौं । रेष्टुरेन्टसहितका गाडी व्यवस्थापन गरौं, जहाँ उनीहरु बसेपछि आनन्द लिँदै यात्रा गर्छन् । त्यो खालको गाडीको माग गर्दा पनि स्विकृत पाउन सकेको छैन । हामी नेपालीहरु दुबइ गएका छौं ।
बैंककदेखि विभिन्न ठाउँ गएका छौं । त्यहाँ कस्तो व्यवस्था छ भनेर पनि हेरेका छौं । मैले ओपन गाडीको व्यवस्था गरौं भनेको छु । क्याराभान गाडी जहाँ त्यहीँ सुत्ने खाने अनि त्यो गाडिमा फेवाताल लगेर रातभरी सुतेर ल्याउने खालको गाडीको व्यवस्था गरौं भनेको छु । लक्जरी गाडीहरु त आए, तर त्यो अनुरुपको आनन्द लिने खालको व्यवस्था गर्न सकेका छैन । क्याविन कोचसहितका गाडी यहाँ चलाउनुपर्छ भन्ने मेरो प्रस्ताव छ । यसो गर्ने हो भने यहाँ पर्यटकको बसाई अझै लम्ब्याउन पनि सकिन्थ्यो ।