काठमाडौं ।
शिक्षकहरुको आन्दोलनका बीच जसरीपनि कक्षा १२ को परीक्षा गर्ने तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयका लागि परीक्षा सार्न निर्देशन दिएका छन् । बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।
यसअघि परीक्षा बोर्डले तोकिएको समय ११ वैशाखमै परीक्षा गर्ने निर्णय गरेको थियो । सबै संयन्त्र प्रयोग गरेर भएपनि परीक्षा गर्ने तयारीमा बोर्ड लाग्दा त्यसको आलोचना समेत भएको थियो ।
प्रधानमन्त्री ओलीले स्थिति जटिल बनेको भन्दै केही समय सार्न निर्देशन दिएका हुन् । सोही अनुसार बोर्ड बैठक बसेर परीक्षा सार्ने तयारी छ । केहीबेरमा परीक्षा बोर्डले सूचना जारी गरेर जानकारी गराउने तयारी रहेको स्रोतले बताएको छ ।