सुरु भयो फेवा नववर्ष महोत्सव

पर्यटकीय राजधानी बनेपछि पोखरामा पर्यटक आउने क्रम बढेको छ, पूर्वाधारका लागि वातावरण बनेको छ : मेयर आचार्य

केन्द्रभाग मिडिया

पोखरा ।

धेरै भन्दा धेरै आन्तरिक र बाहिय पाहुना भित्र्याउने उद्देश्यसहित पोखरामा फेवा नववर्ष महोत्सवको २० औं संस्करण सुरु भएको छ । महोत्न्सवको एक कार्यक्रमका बीच पोखरा महानगरका प्रमुख धनराज आचार्यले शनिबार उद्घाटन गरेका हुन् । महोत्सवको उद्घाटन गर्दै उनले गत वर्ष ४ चैतमा पोखरा पर्यटनको राजधानी घोषणा भइसके पछि पर्यटकीय पूर्वाधार निर्माण तर्फ सरकार र दातृ निकायहरुको समेत ध्यान आकर्षण भएको बताए । साथै उनले पर्यटक आगमनमा पनि बृद्धि भएको दाबी गरे । सन २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरिएको भन्दै यहाँ पर्यटन वर्ष घोषणा पस्चात पर्यटनको क्षेत्रमा सकारात्मक कामहरु सुरु हुन थालेको दाबी गरे ।

सबैको समूहिक प्रयासले पर्यटकीय राजधानी बन्न पोखरा सफल भएको चर्चा गरेका उनले पर्यटकीय राजधानी भएकै कारण एडीबीको सस्टेनेबल टुरिजम परियोजना अन्तर्गत लेकसाईड देखि एयरपोर्टसम्म जोड्ने फास्ट ट्रयाकको बाटो निर्माण गर्ने, पञ्चासे जोड्ने बाटो, बोटानिकल गार्डेन निर्माण लगायतका परियोजनालाई अगाडि बढाउँदै गरिएको उनले जानकारी दिए । १०० मिलियन डलर अर्थात १३ अर्ब रुपैयाँको इ-मोविलिटीको परियोजना नेपाल आएको उनले दाबी गरे । त्यो एउटा निर्णयको प्रभाव भएको उनले बताए । तर नेपाल आइसकेपछि पोखराको भागमा ५ अर्ब रुपैयाँ परेको उनले सुनाए । त्यो परियोजनाको फिजिबिलिटी अध्ययनको काम भइरहेको उनले जानकारी दिए ।

काठमाडौंमा पूर्व मुख्यसचिव बैकुण्ठ आर्याललाई यो परियोजनाको कन्सल्ट्यान्टको रुपमा नियुक्त गरेर प्रक्रिया अगाडि बढिसकेको उनले बताए । यो परियोजना अन्तर्ग ६ वटा टर्मिनल बसपार्क बन्ने लागयतका परियोजना रहेको उनले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा बोल्दै होटल संघ नेपालका अध्यक्ष विनायक शाहले पोखरामा होटल पूर्वाधार बन्ने क्रम अगाडि बढेको बताए । देशभर ३६ लाख पर्यटक राख्न सक्ने होटल पूर्वाधार बनेको चर्चा गरेका उनले हाल जम्मा १२ लाखको हाराहारीमा मात्र पर्यटक आउँदा क्षेमता अनुरुप काम हुन नपाएको धारणा राखे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले महोत्सवले पोखरालाई देशभर र अन्तर्राष्ट्रिय रुपमै ब्राण्डिङ गर्न सहयोग पुग्ने अपेक्षा गरे । यहाँका खाना र संसास्कृतिक प्रस्तुतिले देशभरसहित विश्वकै ध्यान खिच्ने उनको विश्वास छ । महोत्सवमा आउन सक्ने सुरक्षा चुनौतिको विषयमा आफूहरुले ख्याल गरेको भन्दै महोत्सव भव्य र सव्यरुपमा सफल हुने उनले अपेक्षा प्रकट गरे ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखराको लेकसाइड जुर्मुराउँदा सिंगो पर्यटन क्षेत्र जुर्मुराउने बताए । एउटा पर्यटक आउँदा उसले तरकारी लगाउने किसान, दुध उत्पादन गर्ने किसान, साग लगाउने किसान देखि सबैले फाइदा पाउने उनको भनाई छ ।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा महिला सञ्जाल पोखरा ६ का अध्यक्ष बबिता मल्ल, होटल संघ पोखराका सल्लाहकार समिति संयोजक भरतराज पराजुली र महासचिव राजेन्द्र ढकाल लगायतले महोत्सव र पोखराको पर्यटन विकासको विविध पक्षका बारेमा बोलेका थिए ।

संघका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदीले पोखरामा आन्तरिक तथा बाह्य पाहुनाको आगमन बढाउने उद्देश्यले यहाँका होटलले कोठाको मूल्यमा २० प्रतिशत छुट दिएको जानकारी दिए । पर्यटन व्यावसायीले दिएको यो छुट चैतदेखि बैशाख महिनाभर लागु हुनेछ । पोखरालाई पर्यटनको राजधानी घोषणा र महोत्सवको अवसर पारेर चैतदेखि बैशाख महिनाभरी छुट दिइने व्यावसायीले बताएका छन ।

‘आन्तरिक तथा बाह्य पाहुनालाई पोखरामा आकर्षण बढाउन सकिन्छ भनेर यो अफर ल्याएका हौ । यसले पाहुना आगमन बढाउने अपेक्षा छ,’ सुवेदीले भने, ‘मूल्य केही सस्तो पर्ने हुँदा पाहुनाको पोखरा बसाई अवधि पनि लम्बिने अपेक्षा छ।’ पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको र नेपाली नयाँवर्षको अवसर पारेर धेरै पाहुना भित्रयाउन छुट घोषणा गरेको उनले भनाई छ ।

महोत्सवको औपचारिक उद्घाटन गरिनु अगाडि खहरेचोक र ड्यामसाइडबाट विभिन्न बाजागाजा, सांस्कृतिक झाँकीसहितको र्याली प्रस्तुत गरिएका थिए । लेकसाइड स्थित आमा समूह, टोल विकास समिति र संघसंस्थाहरुको झाँकी र्यालीमा सहभागीता थियो । महोत्सव ड्यामसाइटदेखि खहरेसम्मको करिब पाँच किलोमिटर क्षेत्रमा संचालन हुने होटल संघले बताएको छ । महोत्सवका संयोजक समेत रहेका होटल संघ पोखराका अध्यक्ष सुवेदीका अनुसार लेकसाइडका हरेक चौतारामा र तीन किलोमिटर क्षेत्रको सडकमा विभिन्न कार्यक्रम हुनेछन् ।

  • ३० चैत्र २०८१, शनिबार १६:४३ प्रकाशित