पोखरा ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणलाई नेपालको हितका दृष्टिले ‘निकै कमजोर र लज्जास्पद’ भनेका छन् । शुक्रबार पोखरामा प्रेस चौतारी नेपाल कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो भनेका हुन् । उनले भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितका महत्वपूर्ण विषय एजेण्डामा पर्न नसकेको दाबी गरे ।
प्रधानमन्त्री बालेन्द्र शाहबाट विगतमा काठमाडौं महानगरपालिकाको कार्यालयमा ग्रेटर नेपालको नक्सा राखेर चर्चामा आउनेदेखि विभिन्न विषयमा उपदेश दिने काम भए पनि कूटनीतिक तहमा नेपालको हित स्थापित गर्न असक्षम भएको उनको टिप्पणी थियो । ‘नेपालको हितको विषयमा एजेण्डा नै बनेन भनेर भारतीय विदेश सचिवले नै भनेको विषय सार्वजनिक भएको छ,’ उनले भने, ‘नेपाल सरकारले यस विषयमा आफ्ना कूरा राख्नै सकेको छैन ।’
उनले राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितका विषयमा अभिव्यक्ति दिनु मात्रै पर्याप्त नहुने भन्दै त्यसलाई कूटनीतिक र राजनीतिक तहमा स्थापित गर्न सक्नुपर्ने धारणा राखे । प्रधानमन्त्रीको भारत भ्रमणले नेपालको राष्ट्रिय हितका मुद्दालाई प्रभावकारी रूपमा उठाउन नसकेको उनको आरोप थियो ।
महासचिव पोखरेलले विगतमा आफैले आलोचना गरेका सरकारको कार्यसम्पादन र वर्तमान सरकारको कामको तुलना गर्न प्रधानमन्त्री शाहलाई आग्रह गरेका छन् । विगतका सरकारप्रति असन्तुष्टि रहे पनि अहिलेको सरकार त्यसको तुलनामा अझ कमजोर देखिएको उनको निष्कर्ष थियो ।
‘विगतमा सन्तोष गर्ने अवस्था थिएन, त्यसको आलोचना भयो । अहिले त्योभन्दा पनि कमजोर अवस्था देखिएको छ । आफैले आलोचना गरेका विगतका सरकार र आफै नेतृत्वको सरकारको तुलना गरे हुन्छ,’ उनले भने ।
वर्तमान सरकार भर्चुअल माध्यममा चर्चामा रहे पनि भौतिक रूपमा काम गर्न असक्षम देखिएको उनको भनाइ थियो । उनले सरकारको कार्यक्षमतामाथि प्रश्न उठाउँदै विशेषगरी पुँजीगत खर्च गर्ने क्षमतामा सरकार कमजोर देखिएको टिप्पणी गरे।
‘वर्तमान सरकार भर्चुअल माध्यममा निकै चर्चामा छ । तर, भौतिक रूपमा काम गर्न असक्षम देखिएको छ,’ उनले भने, ‘पुँजीगत खर्च गर्ने क्षमतासमेत कमजोर रहेको सरकार विगतका सरकारभन्दा पनि कमजोर देखिएको छ ।’
उनले सरकारको कार्यसम्पादन मूल्यांकन गर्दा प्रचार र वास्तविक कामबीचको अन्तर स्पष्ट देखिएको बताए । सरकारका गतिविधि सामाजिक सञ्जाल तथा भर्चुअल माध्यममा बढी चर्चामा रहे पनि त्यसअनुसार परिणाम देखिन नसकेको उनको टिप्पणी थियो ।
सरकारको वास्तविक मूल्यांकन प्रचार, भाषण र चर्चाका आधारमा नभई विकास निर्माण, पुँजीगत खर्च र जनताले अनुभूति गर्ने परिणामका आधारमा हुनुपर्ने उनको भनाइ थियो । उनले वर्तमान सरकारको कार्यक्षमता र कार्यसम्पादनले मुलुकलाई अपेक्षित गति दिन नसकेको टिप्पणी गरे ।












