पूर्व मुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न ४ दिन थप

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौँ जिल्ला अदालतले पूर्व मुख्यसचिव एकनारायण अर्याललाई अनुसन्धानका लागि ४ दिन प्रहरी हिरासतमा राख्न समय दिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेका अर्याललाई अनुसन्धानका लागि समय माग गर्दै शुक्रबार जिल्ला अदालत काठमाडौँमा पेस गरिएको थियो ।

उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालतले ४ दिनको समय दिएको हो । सीआईबीले बिहीबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि अर्याललाई पक्राउ गरिएको जानकारी दिएको थियो ।

मलेसिया सरकार र नेपाल सरकारबिच भएको सम्झौता विपरीत गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप उनीमाथि छ ।

सीआईबीका अनुसार अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ दशमलव ९२ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० दशमलव ८० गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा गैरकानुनी रूपमा मलेसिया पठाइएको विषयमा अनुसन्धान भइरहेको छ ।

उक्त रकम पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रही आर्थिक लाभ लिने तथा दिलाउने कार्यमा समेत अर्यालको संलग्नता रहेको प्रहरीको आरोप छ ।

  • ११ मंसिर २०८३, शुक्रबार १५:०२ प्रकाशित