पोखरा ।
रष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको नेतृत्व र व्यवस्था राखेसम्म देश बन्न नसक्ने बताएका छन् । राप्रपाले शुक्रबार पोखरामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो जीवनकालमा देश बनेको देख्न चाहने हो भने यो व्यवस्था परिवर्तन र नेतृत्वलाई परिवर्तन गर्ने आन्दोलनमा जोडिनुपर्ने उनले सुनाए । नेपालको राजनीतिमा भ्रष्टचारको विरुद्ध उत्रने पार्टी आफ्नो पार्टी मात्र रहेको चर्चा गरेका उनले ‘आफूहरुले भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह हो’ भनेको दोहर्याए ।
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवशको दिन दिएको सन्देशको प्रसंग जोड्दै अध्यक्ष लिंग्देनले एक पटक पूर्वराजाको आह्वानलाई साथ दिएर अगाडि बढ्ने समय आएको उल्लेख गरे । कांग्रेस र एमालेलाई लचक दलको संज्ञा दिंदै उनले परिवर्तनका एजेण्डाबाट फिर्ता हुन समेत आग्रह गरे । कांग्रेस, एमाले र माओवादीले धर्मनिरपेक्ष, संघीयता र गणतन्त्र ल्याउँदा राम्रै भनेर ल्याएको भएपनि राम्रो नभएकाले त्यसबाट फिर्ता हुनुपर्ने उनको भनाई थियो । उनले अब धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रले देश चलदैन भन्ने प्रमाणित भएको जिकिर गरे ।
राप्रपाले द्वन्द्व नचाएको भन्दै उनले सम्झौताबाट देश बनाउनुपर्ने धारणा राखे । ‘यिनिहरुले राजा लयाउने कुरा गरेर पछाडि फर्काउन खोजे भन्छन् । देश अब यही स्थितिमा र यही बाटोमा रहन सक्दैन । हिजो र आजका सबै कूरा समेटेर राजादेखि माओवादीसम्म अट्न सक्ने व्यवस्था ल्याऔं । कांग्रेस र एमालेले २०५२ को फागुन १ गते तत्कालिन माओवादीले संविधानसभाको चुनाव माग्दा स्विकार्नुभएन । माओवादी विद्रोहमा गयो । १० वर्षपछि संविधानमात्र होइन । माओवादीका सबै एजेण्डा स्विकार गर्नुभयो । धर्म निरपेक्षता, संघीयता र गणतन्त्र सबै स्विकार गर्नुभयो । कांग्रेस र एमाले लचक पार्टी हो । यो व्यवस्था ल्यार गलत गर्यौं भनेर स्विकार गर्नुहोस्’ उनले भने ।
अध्यक्ष लिंग्देनले देश यसरी नचल्ने र जनतापनि चुप लागेर नबस्ने चेतावनी दिए । उनले आफ्नो पार्टीले गरेको आग्रहलाई कमजोर नठान्न पनि आग्रह गरेका छन् । उनले वर्तमान नेतृत्व र व्यवस्थाको विरुद्धमा राप्रपाले आन्दोलनको नेतृत्व गर्ने समेत बताए । उनले ‘निर्मल निवास र नारायणहिटीको दुरी कति छ ?’ भनेर सोध्नुका साथै ‘जसरी जबरजस्ती नरायणहिटीबाट निर्मल निवाससम्म पुर्याइएयो , त्यसरी निर्मलनिवासबाट डोर्याउँदै डोर्याउँदै नारायणहिटी ल्याउन तयार छौं । त्यतिबेला कसैले रोक्न सक्दैन’ भनेका छन् ।
















