नेकपा एसको ३ महिने आन्दोलन कार्यतालिका प्रस्ताव

जेठ १० गते काठमाडौँमा वृहत प्रदर्शन गर्ने प्रस्तावित योजना

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले तीन महिने आन्दोलन कार्यक्रमको तालिका प्रस्ताव गरेका छन् ।

ललितपुरको जावलाखेलमा शुक्रवारबाट सुरु भएको पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा महासचिव भुसालले आन्दोलनद्वारा पार्टी निर्माणको तात्कालिक योजना अन्तर्गत आन्दोलनको कार्यतालिका सार्वजनिक गरेका हुन् ।

भुसालले गरेको प्रस्तावअनुसार यही फागुन तेस्रो साता गर्ने पत्रकार सम्मेलनमा मुलुकको अर्थ राजनीतिक सङ्कट र त्यसको समाधानसम्बन्धी अभियानबारे धारणा राख्ने तथा त्यसबारे सार्वजनिक रूपमा सुझावहरू आह्वान गर्ने उल्लेख छ ।

त्यस्तै चैत १५ गतेसम्म केन्द्रीय तहमा सुझाव सङ्कलनका विभिन्न कार्यक्रमहरू गर्ने र त्यसअन्तर्गत पार्टीका सबै जनसङ्गठन, विभागसहित अन्य संघ संस्थाहरुबाट सुझाव सङ्कलन गर्ने प्रस्ताव भुसालको छ । त्यसपछि चैत २० गते सरकारलाई पार्टीका माग पेस गर्ने, त्यसबिचमा जिल्ला अधिवेशनहरू गर्ने, वैशाख २० गते प्रदेश सरकार र पालिकाहरूमा माग पेस गर्ने र जेठ १० गते काठमाडौँमा प्रदर्शन गर्ने भुसालको प्रस्तावित योजनामा उल्लेख छ ।

त्यसैगरी जेठ तेस्रो साताबाट बजेट र आफ्ना मागका बारेमा पत्रकार सम्मेलन गरी नयाँ कार्यक्रम घोषणा गर्ने कार्ययोजनामा उल्लेख छ । केन्द्रीय कमिटी बैठकले ती योजना पास भएपछि कार्यान्वयनमा जानेछन् ।

  • ९ फाल्गुन २०८१, शुक्रबार १४:४७ प्रकाशित