आज पोखरामा विरोधसभा गर्दै राप्रपा, भ्रष्टाचारको भण्डाफोर गर्ने दाबी

केन्द्रभाग मिडिया

पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पोखरामा बृहत् विरोधसभाको आयोजना गरेको छ । विभिन्न ९ बुँदे एजेन्डाहरू अघि सारेर विरोधसभा आयोजना गरिएको राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले जानकारी दिए । उनका अनुसार संवैधानिक राजसंस्थाको पुनःस्थापना गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद्, सङ्घीयताको खारेजी, हिन्दु अधिराज्य घोषणा, शीर्ष नेता र कर्मचारीहरूको सम्पत्ति छानबिन, भ्रष्टाचार, विभेद र अन्यायको अन्त्य गर्ने तथा रोजगारी सिर्जनाका लागि दबाब सिर्जना गर्न विरोध सभाको आयोजना गरिएको हो ।

उनले विरोध सभामा गण्डकी प्रदेशभित्रको भ्रष्टाचारको भण्डाफोर गर्ने जानकारी दिए । ‘भ्रष्टाचारले हरेक तहलाई गाँजेको छ । अझ दुःखद कुरा के छ भने हिजो ठूलो स्वरमा सुशासनको भाषण छाँट्ने भ्रष्टाचारीहरू नै अझै सत्तामा आसीन छन्,’ उनले भने, ‘नेपाली संस्कृति, धर्म, र पहिचान मेटेर नेपाली जनतालाई विदेशी शक्तिहरूको कठपुतली बनाउने षड्यन्त्र हामी स्वीकार गर्न सक्दैनौँ ।’

उक्त कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार लगायत गण्डकी प्रदेशभित्रका सबैखाले भ्रष्टाचारको भण्डाफोर गर्ने उनले बताए । राप्रपाले आयोजना गर्ने विरोध सभामा राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिंग्देनसहितका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।

राप्रपाले सातै प्रदेशमा गर्ने वृहत् भण्डाफोर सभा अन्तर्गत पहिलो सभा पोखरामा गर्न लागेको हो । यसपछि १७ फागुनमा लुम्बिनी प्रदेशको बुटवलमा, १८ फागुनमा सुदूरपश्चिम प्रदेशको धनगढीमा, २१ फागुनमा मधेश प्रदेशको जनकपुरमा, २५ फागुनमा बागमती प्रदेशको काठमाडौं र २७ फागुनमा कर्णालीको सुर्खेतमा भण्डाफोर सभा हुने राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिएका छन् ।

पूर्वाराजा ज्ञानेन्द्र शाह यतिबेला पोखरामा छन् । उनी पोखरामा नै रहेका बेला राप्रपाले गर्न लागेको यो भण्डाफोर सभालाई चासोका साथ हेरिएको छ ।

 

 

  • ९ फाल्गुन २०८१, शुक्रबार ०७:४३ प्रकाशित