पोखरा ।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, पोखराले फुलबारी स्थित निर्माणाधिन दिव्य शान्ति अनुभूति केन्द्रमा आजदेखि राजयोग मेडिटेशन सुरु भएको छ ।
लोकप्रिय तथा प्रतिभाशाली प्रशिक्षक राजयोगी ब्रह्माकुमार राजु घलेको मुख्य प्रशिक्षण रहने “आन्तरिक शान्ति एवं पारिवारिक सुखका लागि राजयोग मेडिटेशन “ विषयक पाँच दिवसीय राजयोग प्रशिक्षण कार्यक्रमको आज उद्घाटन भएको हो ।
दिनमा तिनवटा सत्र सञ्चालन हुने उक्त कार्यक्रमको दिव्य हलमा सम्पन्न भएको दिवाकालीन सत्रका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री माननीय बिन्दु कुमार थापाले सामाजका विसंगती र विकृतिहरुलाई निर्मुलिकरण गर्नका लागि मेडिटेसन र आध्यात्मिकताको ठुलो महत्व रहने साथै मानसिक र शारिरीक स्वस्थ्य व्यक्तिले नै सही ढंगले सामाजिक उत्तरदायित्व बहन गर्न सक्ने कुरामा जोड दिए ।
यस प्रशिक्षण कार्यक्रम पोख्रेलीहरुका लगि पक्कै नै उपलब्धीमूलक रहने तथा उपस्थित हुने प्रशिक्षार्थीहरु सबैको जीवन परिवर्तन गर्ने माध्यम बन्नेछ भन्ने कुरामा आफु विश्वस्त रहेको बताउँदै मन्त्रीले कार्यक्रमको सफलताको शूभकामना व्यक्त गरे ।
कार्यक्रमको प्रभातकालीन सत्रको प्रमुख आतिथ्यता वडा ११ अध्यक्ष प्रेम प्रसाद कर्माचार्यले गरेका थिए भने साँझको सत्रमा वडा १२ अध्यक्ष सन्तोष बास्तोलाले गरेका थिए ।
जीवनमा व्यक्तिले प्रयाप्त भौतिक सम्पन्नता प्राप्त गरेता पनि मनको शान्ति र खुशी भएन भने त्यो सबै अर्थहिन रहको बताउँदै ब्रह्माकुमारीज नेपालका अध्यक्ष राजयोगिनी परिणीता दिदीले आज मानवमन अपवित्र र अशान्तमय हुँदै गइरहेको कारण अन्तर्मनमा लागेका क्रोध, लोभ, मोह, अभिमानका दागहरु भएको बताए । उनले शान्तिको हरेकलाई आवश्यकता हुनुको कारण शान्ति नै सबै मानवआत्माको ओरिजिनल संस्कार रहेको तथा जीवन यात्रा गर्ने क्रममा मनमा लागेको ती फोहोर दाग सफा गर्नको लागि यस्ता महत्वपूर्ण प्रशिक्षणहरु जीवनपरिवर्तनका माध्यम हुन सक्ने भएकोले यो अनमोल अवसर नगुमाउन सबैलाई आग्रह गरे ।
स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा संस्थाका महासचिव राजयोगी ब्रह्माकुमार शैलेषराज बरालले वर्तमान तनावयुक्त माहोलमा सुखमय र शान्त जीवन बाँच्नका लागि हरेकले आध्यात्मिक पुरुषार्थ तथा अन्तरमनको शुद्धिकरणमामा सजग रहनुपर्ने बताए ।
मानिसले आज जीवनमा सुख वा दुख जे कुरा भोगिरहेको छ, त्यो कही न कही आफ्नै सोचको उपज हो भन्ने कुरामा जोड दिदै उनले भूतकालका घटनाका स्मृती र भावीको चिन्ता गर्नाले आज समाजमा तनाव र दुख बढ्दै गएको बताए ।
प्रकृतिका तत्वहरु, आफ्नो जीवन, परिवार र समाजप्रति न्याय गर्नका लागि हरेक दिन केही समय आध्यात्मिक पुरुषार्थमा लाग्न जरुरी रहेको तथा यस कार्यक्रममा प्रशिक्षक राजु घलेबाट प्राप्त जिवन उपयोगी महत्वपूर्ण टिप्सहरुलाई जीवनमा चिन्तन, मनन र धारण गरेर आफ्नो जीवनमा पूर्णतया खुसी र आनन्द ल्याउन पनि उनले आग्रह गरे ।
पाँच दिवसीय कार्यक्रमका ओजस्वी प्रशिक्षक ब्र। कु। राजु घलेले कार्यक्रमको शुभकामना मन्तव्य दिनका साथै प्रथम सत्रमा अति नै उत्साहपूर्वक प्रशिक्षार्थिहरुका लागि जीवन खुशीयाली बनाउने तरिकाका साथै राजयोगको गहन ज्ञानलाई सरल, व्यवहारिक र वैज्ञानिक प्रस्तुती प्रदान गरे ।
कार्यक्रममा विभिन्र समाजसेवी राजनितिज्ञ, नेतृत्व पंक्तीमा रहेका महानुभावहरु, विभिन्न सघं संस्थाका प्रतिनिधिहरु, ब्रहमाकुमारीज शाखा, उपशाखाका सञ्चालिका दिदी बहिनीहरु सहित करिव पाँचसय जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन राजयोगिनी ब्रह्माकुमारी शोभा दिदीले गरेकी थिइन् ।
















