काठमाडौं ।
देशभर मनसुनी वायुको प्रभाव कायम छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (शुक्रबार) विहान बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागमा साधारणतया बदली भएको छ ।
मधेस प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशका तराई भेगमा आंशिक बदली भएको छ । बागमती र कर्णाली प्रदेशका केही तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ ।
राति पनि देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । साथै हिमाली भागका केही स्थानमा वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।













