पोखरा ।
पोखरा रंगशालामा जारी आहा रारा पोखरा गोल्डकपको २४औं संस्करणअन्तर्गत बिहीबार भएको खेलमा सडनडेथमा एनआरटीलाई हराउँदै चर्च ब्वाइज क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
निकै नै प्रतिस्पर्धात्मक खेल निर्धारित समय र अतिरिक्त समयमा १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा पहिलो ५ प्रहारमा दुवैतर्फबाट ४–४ गोल भएको थियो ।
सडनडेथमा चर्च ब्वाइजका गोलकिपर टिकेन्द्र थापाले एनआरटीका खेलाडीको प्रहार बचाउँदै टोलीलाई जित दिलाए । उनी प्लेयर अफ द म्याच घोषित भए । दुवै टोलीका ९–९ जना खेलाडीले पेनाल्टी प्रहार गरे । जसमा चर्च ब्वाइजबाट ६ र एनआरटीबाट ५ गोल भयो ।
यसअघि भएको निर्धारित समयको २५औं मिनेटमा रिचर्ड विल्सले गोल गर्दै एनआरटीलाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि ६४औं मिनेटमा पेनाल्टीमार्फत नविन लामाले गोल गर्दै चर्च ब्वाइजलाई बराबरीमा फर्काए ।
त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । अब चर्च ब्वाइज सेमिफाइलन प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।