पोखरा ।
पोखरा — पोखरामा मंगलबारबाट सुरु २४ औं संस्करणको आहा–रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लवलाई स्तब्ध पार्दै विभागीय टिम नेपाल पुलिस क्लवले विजयी सुरुवात गरेको छ । खेलमा अधिकांस समय हावि देखिएको आयोजक सहारा क्लब नेपाल पुलिससँग १–० ले स्तब्ध भएको छ ।
पुलिसका उज्वल राईको गोलको मद्दतले ६ पल्टको उपाधि विजेता पुलिस प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको हो । खेलको ३६ औं मिनेटमा पाएको कर्नरको सदुपयोग गर्दै राईले पुलिसलाई अग्रता दिलाए । उज्वलले माथि उठाएर प्रहार गरेको क्रनरमा सहाराका गोलकिपर सन्तोष महतले बल रोक्ने कुनै अवसर नै पाएनन् । खेलमा उनी प्लेयर अफ द म्याच घोषित भए ।
पुलिसले आजको जितसंगै क्वाटरफाइनलको यात्रा तय गरेको छ । तीन विदेशी खेलाडी र आफ्नै एकेडेमीका खेलाडी लिएर मैदानमा उत्रिएको सहारा यसपल्ट पहिलो खेलमा हार व्यहोरेसँगै प्रतियोगिताबाट बाहिरिएको छ । पुलिसले २६ माघमा ब्रिगेड ब्वाइज क्लब, यूकेसँग क्वाटरफाइनल खेल्ने छ ।
यसअघि प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन् । फागुन ३ मा हुने फाइनल विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
यसैबिच सहारा क्लबले यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान सनिष श्रेष्ठलाई प्रदान गरेको छ । सनिशलाई ५० हजार ५ सय ५५ रुपैयाँसहित नगर प्रमुख आचार्यले सम्मान गरेका हुन्। यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भइसकेका छन् ।
सहारा क्लबको आयोजनामा २०५८ मा पहिलोपल्ट क्याराभान कपबाट सुरु भएको यो प्रतियोगिता हाल आएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा परिचित हुन पुगेको छ । प्रतियोगिताको मुख्य प्रायोजक रारा चाउचाउको उत्पादक हिमश्री फूड्स रहेको छ भने प्रमुख संरक्षकमा पोखरा महानगरपालिका रहेको छ ।