पत्रकार बरालले ताल र सिमसार क्षेत्रमा खिचेका तस्बिर प्रदर्शनी

केन्द्रभाग मिडिया

पोखरा ।

विश्व सिमसार दिवसको अवसर पारेर फेवाताल किनारमा पोखरामा पत्रकार कृष्णमणि बरालले खिचेका तस्बिरहरु सार्वजनिक गरिएको छ । लामो समयदेखि वातावरण र गिद्ध संरक्षणको क्षेत्रमा कलम चलाइरहेका पत्रकार बरालले विभिन्न समयमा खिचेका फेवाताल र यसको पर्यावरणसंग जोडिएका तस्बिर सार्वजनिक गरेका छन् । उनले हिमालदेखि ताल र गिद्ध संरक्षणसम्मका तस्बिर प्रदर्शन गरेका हुन् ।

कसरी सिमसार मासिँदै गइरहेको छ र मानवीय तथा प्राकृतिक रुपले कसरी यहाँ तालहरू खुम्चिँदै गइरहेका छन् भन्ने चित्र पत्रकार बरालले देखाएका छन् । मानवीय अतिक्रमण, सडक र सरकारी परियोजनादेखि फोहोर मैलाले दुर्गन्धित बनेको फेवालगायतका तालहरूको अवस्थालाई पत्रकार बरालले सिमसार दिवसको अवसर पारेर फोटो प्रदर्शनीमार्फत उजागर गरेका हुन् । फेवा किनार पुगेका पर्यटक, विद्यालयका विद्यार्थी, स्थानीय र सिमसारका साथै पर्यावरणको क्षेत्रमा चासो राख्नेहरुको लागि उनले खिचेका तस्बिरले ध्यान खिचेको छ ।

सिमसार क्षेत्रमा ताल किनारमा डोजर चलेका, तालमा प्लाष्टिकजन्य फोहोर, फालिएको सिनोका साथै गिद्धले सिनो खाएर गरेको सफाईसहित पहिलेको फेवाताल र अहिलेको फेवाताल तुलना बरालले खिचेर प्रदर्शन गरेका तस्बिरमा गरिएको छ ।

‘एकातिर मानिसबाट कसरी फेवाजस्ता सम्पदालाई फोहोर र दुर्गन्धित गराइएको छ भन्ने प्रमाण हो भने अर्कोतर्फ जसलाई गिद्ध भनेर बेवास्ता गरिन्छ, उसले चाहिँ सिनो खाएर सफा गरिदिएको छ,’ बरालले फोटोको व्याख्या गर्दैै भने, ‘मानिस र गिद्धबीचको भिन्नता मैले फोटोमार्फत देखाइदिएको हुँ ।’

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल र सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा भएको फोटो प्रर्दशनी कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, बैदाम प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोस निरौला र स्थानीय ज्ञानबहादुर जलारीले संयुक्त रुपमा गरेका थिए ।

 

  • २० माघ २०८१, आईतवार २३:२० प्रकाशित