पोखरा ।
मोफसलको चर्चित फूटबल प्रतियोगिता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको सबै तयारी पुरा भएको छ । प्रतियोगिताको आयोजक संस्था सहारा क्लव पोखराले आइतबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिएको हो ।
यही २२ फागुन देखि सुरु हुने प्रतियोगिताको सबै तयारी पुरा भएको सहारा क्लव पोखराका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार पहिलो खेल प्रतियोगिताको उद्घाटको दिन आयोजक सहारा क्लव र विभागीय टिम नेपाल पुलिस क्लव बीच हुनेभएको छ । उनका अनुसार ३ फागुनसम्म चल्ने उक्त प्रतियोगितामा १२ टिमले भाग लिने छन् ।
प्रतियोगितामा भारत, यूके, उज्वेकिस्तानका टिमसहित नेपालका ए डिभिजन क्लबले समेत भाग लिँदैछन् । प्रतियोगिताको उद्घाटन खेल आयोजक र विभागीय नेपाल पुलिस क्लबबीच हुनेछ । ३ फागुनमा हुने फाइनलअघि ३० माघमा पहिलो सेमिफाइनल र १ फागुनमा दोस्रो सेमिफाइनल हुनेछ ।
समूह ‘ए’ तर्फ आयोजकसहित नेपाल पुलिस, एनआरटी, चर्च ब्वाइज यूनाइटेड, त्रिभुवन आर्मी क्लब र यूकेको ब्रिगेड ब्वाइज क्लब छन् । तीमध्ये यूके र आर्मीले सिधैँ क्रमशः पहिलो र तेस्रो क्वाटरफाइनल खेल्ने छन् । समूह ‘बि’ मा एपिएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट नर्थ यूनाइटेड, संकटा, थ्रिस्टार र उजेकिस्तानको ब्लाक बुल्स फुटबल क्लब छन् ।
तीमध्ये थिस्टार र उजेकिस्तानले सिधैँ क्रमशः दोस्रो र चौथो क्वाटरफाइनल खेल्ने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले बताए । पोखरा रंगशालामा हुने प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ हो । संरक्षकमा पोखरा महानगरपालिका छ भने सहप्रायोजकमा जयश्री फुड्स प्रालिको उत्पादन भान्छाघर लङ्ग्रेन प्रिमियम बासमती राइस रहेको छ । प्रतियोगितामा १ करोड ५१ लाख आम्दानी, १ करोड ४२ लाख खर्च र ८ लाख ८० हजार बचत हुने आयोजकको अनुमान रहेको छ । गत संस्करणको विजेता त्रिभुवन आर्मी र उपविजेता थ्रि स्टार हुन् ।
प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ प्राप्त प्राप्त गर्नेछन् । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले फुटबलमार्फत सामाजिक कार्य गर्दै आएको छ । आहारारा नेपालमै निरन्तर भइरहेको एकमात्र फुटबल प्रतियोगिता हो ।
पत्रकार भेटघाट कार्यक्रममा बुल्दै मुख्य प्रायोजक रारा चाउचाउ उत्पादक संस्था हिमश्री फूड्सका निर्देशक किरण केसीले आफ्ना बुवा स्वर्गीय सूर्यबहादुर केसीले कठिन अवस्थामा पनि पोखराको फूटबल खेलको विकास र समाजसेवाका लागि दिएको योगदानलाई आफूहरुले पनि निरन्तरता दिने प्रतिवद्धता जनाए ।
उनले रारा चाउचाउ हिमश्री फूड्सले उद्पादन गरेपनि यो समग्र पोखरेलीको चाउचाउ भएको बताए । सहारा क्लवका अध्यक्ष केशवराज बरालको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, हिमश्री फुड्सका निर्देशक प्रकास केसीे, सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ लगायतले बोलेका थिए । उक्त अवसरमा ट्रफी सार्वजनिक गरिनुका साथै आयोजक सहारा क्लवको जर्सी समेत सार्वजनिक गरिएको थियो ।
प्रतियोगिताबाट बचत रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्चिने क्लब अध्यक्ष केशवराज बरालले बताए । हाल एकेडेमीमा ३० जना बालक आश्रित छन् ।