पोखरा ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखराको सुन्दरताको बयान गर्दै माछापुच्छ्रेमा हिउँ नदेखिएको प्रति चिन्ता व्यक्त गरेका छन् । पोखरामा आइतबार कांग्रेसको पोखरा महानगर समितिको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
आफू पोखरामा जेलमा बसेको बेला देखिएको माछापुच्छ्रे स्मरण गरेका उनले भने, ‘म विद्यार्थी राजनीतिमा हुँदा यहाँ जेलमा पनि थुनेको थियो केही दिन, त्यहाँबाट माछापुच्छ्रे कस्तो राम्रो देखिन्थ्यो । सारा हिउँले ढाकिएको, अहिले हिउँ पनि पहिलेजस्तो छैन । ‘हिउँ पनि पग्लिसक्यो, सुकिसक्यो । यहाँ हिउँ टिक्नै सक्दैन, त्यस्तो अवस्था छ ।’
प्रदूषणको समस्या विश्वव्यापी हुन सक्ने भए पनि पर्यावरण जोगाउन आफ्नो ठाउँबाट योगदान दिनुपर्नेमा उनले जोड दिए । पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले पोखराको आकर्षण नेपालभित्र मात्र नभइ नेपालबाहिर पनि त्यत्तिकै रहेको चर्चा गरे । उनले विदेशबाट आउने पाहुनालाई अझै सुविधा दिन सके यहाँको आर्थिक स्थिति बढ्ने र गतिविधि पनि बढ्दै जाने उनको भनाइ थियो ।