पोखरा ।
२४ औं आहा ! रारा पोखरा गोल्ड कप यहि माघ २२ गतेदेखि हुने भएको छ । आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलनको आयोजना गरि आहा ! रारा पोखरा गोल्ड कपको २४ औँ संस्करण यहि माघ २२ गतेदेखि फागुन ३ गते सम्म सञ्चालन हुने जानकारी दिएको हो ।
गोल्ड कपमा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । हालसम्म प्रतियोगिताको लागि १२ टिमले नाम दर्ता गरेको प्रतियोगिताका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।अधिकारीको अनुसार प्रतियोगितामा सहभागी हुन नाम दर्ता गर्ने टिममा त्रिभुवन आर्मी क्लब, मछिन्द्र, थ्री स्टार, एपीआइ पावर, चर्च ब्वाइज युनाइटेड क्लब, नेपाल पुलिस क्लब, ब्रिगेड ब्वाइज क्लब यु.के., एनआरटि फुटवल क्लव, एपीएफ र थन्डर नर्थ युनाईटेड क्लव सिक्किम रहेको छ ।
खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने उद्देश्यका साथ हुन लागेको गोल्डकपको मुख्य प्रायोजक पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि द्धारा उत्पादित रारा तयारी चाउचाउले रहेको छ ।प्रतियोगिताको संरक्षक पोखरा महानगरपालिका रहेको छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि १ करोड ५१ लाख रुपैयाँ खर्च लाग्ने र १ करोड ४२ लाख २० हजार रुपैयाँ आम्दानी हुने आयोजकको अनुमान छ । बचत ८ लाख ८० हजार हुने अपेक्षा आयोजकले गरेको छ । प्रतियोगिताबाट बचत हुने रकम आयोजक सहारा क्लबबाट सञ्चालित सूर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडमीमा खर्च गरिने आयोजकले जनाएको छ ।
विगत २०६१ साल देखि आवासीय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षादिक्षा लगायत फुटबल प्रशिक्षणसमेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा १७ दोबिल्लामा प्रदान गर्दै आइरहेको छ । हाल चौंथो ब्याचको एकेडेमीमा १६ जिल्लाका ३० जना बालकहरु आश्रित छन् ।
सहारा क्लबको स्थापना ‘आत्मा साँक्षी राखि मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्यले वि.सं २०५५ सालमा स्थापित भएको हो ।


















