सहज बन्दै मनाङ यात्रा

केन्द्रभाग मिडिया

मनाङ ।

पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो समय सडक सञ्जाल विस्तार भएसँगै यात्रा सहज बन्दै गएको छ । ट्रयाक खोलेको करिब २० वर्षपछि डुम्रे(बेंसीसहर(चामे खण्डले गति लिएपछि यात्रा सहज बन्दै गएको हो ।

डुम्रे(बेंसीसहर(चामे आयोजनाले गत आर्थिक वर्षमा आठ किलोमिटर सडक कालोपत्र गरिसकेको आयोजनाका सबइञ्जिनीयर सुमन अधिकारीले जानकारी दिए । उनका अनुसार बेँसीसहरबाट खुदीसम्म आठ किमी सडक कालोपत्र सम्पन्न भएको हो ।

सबइञ्जिनीयर अधिकारीले भने, ‘मनाङतर्फको सडक निर्माणमा मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजनाले पनि सहयोग गरेको छ । भौतिक रूपमा असहज भएका स्थानमा आयोजनाले काम गरिसकेको छ । जलविद्युत् आयोजनाका सवारीसाधन आवतजावत गर्नुपर्ने भएकाले यहाँको विकासलाई पनि सहयोग पुगेको छ ।’ बेँसीसहर(चामे खण्डअन्तर्गतका सडक र पुल निर्माणका लागि ५१ करोड बजेट विनियोजन भएको उनले जानकारी दिए ।

आयोजना निर्माणस्थलमा आवश्यक सामग्री ल्याउन सहज बनाउने उद्देश्यले सडक चौडाइ गर्ने, घुम्ती क्षेत्रमा पूर्वाधार र सडक निर्माणलगायत काम भइरहेका बुटवल हाइड्रोपावर कम्पनी लिमिटेडका सहायक प्रबन्धक प्रतिकमानसिंह प्रधानले जानकारी दिए । उनका अनुसार सडक आयोजनासँग सम्झौता गरी आपसी समन्वयका आधारमा काम भइरहेको हो ।

  • ६ माघ २०८१, आईतवार १६:०१ प्रकाशित