पोखरा ।
आईसीसी यू-१९ महिला टी-२० विश्वकप २०२५ को दोस्रो संस्करण शनिबारदेखि मलेसियामा सुरू हुँदै छ । चार समूहमा विभाजित १६ टोली सम्मिलित यस विश्वकपमा नेपाल समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै छ । नेपालले आज पहिलो खेलमा बंगलादेशको सामना गर्दैछ ।
मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा आज दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि खेल सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा बंगलादेशको कप्तानमा सुमैया अक्तर छन् । नेपालले बंगलादेशसँग गत डिसेम्बरमा मलेसियामै भएको यू-१९ एसिया कपमा खेलेको थियो । उक्त खेलमा नेपाल पराजित भएको थियो ।
एसिया कपमा व्यहोरेको हारको बदला लिँदै जितका साथ विश्वकप यात्रा सुरूवात गर्न चाहनेछ । यसले नेपालको सुपर सिक्स सम्भावना पनि बलियो बनाउने छ ।
समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा पुग्ने भएकाले नेपाललाई एक जितले मात्र पनि सुपर सिक्समा पुर्याउन सक्छ । बंगलादेशविरूद्ध जित निकाल्न सके नेपालको सुपर सिक्स सम्भावना बलियो बन्ने छ ।
नेपालको महिला टोली पनि यस विश्वकपमा पहिलोपटक सहभागी हुँदैछ ।