पोखरा ।
१९ औँ संस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथन २०८१ फागुन ३ गते भएको छ । आयोजक भूतपूर्व खेलाडी मञ्चले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी म्याराथनवारे जानकारी दिएको हो । म्याराथन सम्पन्न गर्न २८ उपसमिति गठन गरी तयारी थालिएको मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए ।
म्याराथन अन्तरगत १४ वटा क्याटोगरीमा प्रतिष्पर्धा हुने छ । जसअन्तर्गत खुला म्याराथन ४२.१९५ किमी, गण्डकी प्रदेशस्तरीय खुला म्याराथन ४२.१९५ किमी, २१.०९७ किमि हाफ म्याराथन महिला / पुरुष दौड, महिला पुरुष १० किमि दौड, विद्यालयस्तरीय छात्र/ छात्रा ५ किमि दौड, महिला/पुरुष ह्विल चियर तथा दृष्टिविहिन महिला /पुरुष दौड, ५० वर्ष भन्दा माथि ५ किमि भेट्रान्स महिला/पुरुष दौड हुने अध्यक्ष गुरुङले बताए ।
‘स्वच्छ पोखरा, स्वस्थ पोखरेली’ नारासहित हुने म्याराथन अन्तरगत पौष २७ गते मासिक दौड हुने भएको छ । ५ किमि मासिक दौड रंगशालाबाट सुरु भई एसओएस गेट, कृष्ण मन्दि चोक, इन्द्र मार्ग हुदै पुन रंगाशाला पुगेर सम्पन्न हुने छ । यस दौडलाई प्रविधि मैत्री बनाउन यसपालि ‘चिप्स’को प्रयोग गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । ५ कि.मी दौडको लागि दर्ता गर्न जाने पहिलो छात्रतर्फ ५० र छात्रातर्फ ५० गरि १०० जनाले चिप्सको प्रयोग गर्न पाउनेछन् ।
मञ्चले खुल्ला ४२ किलोमिटर १९५ मिटर म्याराथनको प्रथम पुरस्कार ५ लाख घोषणा गरेको छ । यस्तै द्धितिय,तृतीय र सान्त्वना हुने धावकलाई क्रमस ३ लाख, २ लाख र सान्त्वना हुने ८ जनालाई ३० हजार देखि १० हजारपुरस्कार पाउने छन् ।
यसै गरी महिला हाफ म्याराथन, १० किलोमिटर पुरुष तथा महिला, ५ किलोमिटर छात्रा छात्र, ह्लिचियर तथा दृष्टिविहिन तर्फको पुरस्कार राशि बृद्धि गरिएको मञ्चले जनाएको छ । पुरस्कार राशीमा मात्रै कुल २१ लाख ३४ हजार खर्च हुने र म्याराथन सम्पन्न गर्नका लागि कुल १ करोड ८९ हजार खर्च हुने अनुमान रहेको म्याराथनका मुख्य संयोजक एवम् प्रथम उपाध्यक्ष खेम बहादुर गुरुङले जनाए ।
हालसम्म स्वदेश तथा विदेश गरि ८९ जना खेलाडीले अनलाईन दर्ता गरेको आयोजकले जानकारी दियो । जस मध्ये म्याराथनमा २४ विदेशी सहित ४६ जना, हाफ म्याराथन पुरुषतर्फ ७ विदेशीसहित १३ जना, हाफ म्याराथ महिला १ विदेशी सहित २ जना, १० किमि पुरुष १ विदेशीसहित १६ जना, १० किमि महिला २ विदेशीसहित ५ जना , ५ किमि भेट्रान्स(५०वर्ष) पुरुष १ जना, ५ किमिका लािग छात्र ३ र ५ किमिका लागि छात्रा ३ जनाले दर्ता गरेका छन् । म्याराथनमा सहभागी हुनका लागि माघ २४ गतेसम्म नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।
पौष २७ गतेबाट सुरु हुने म्याराथन फागुन ३ गते सकिने छ ।