राष्ट्रपति पौडेल र संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसबिच भेटवार्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसबिच शिष्टाचार भेटवार्ता भएको छ ।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहामा मङ्गलबारदेखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन पुगेका राष्ट्रपति पौडेल र संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसबिच मङ्गलबार शिष्टाचार भेटवार्ता भएको हो ।

सो अवसरमा राष्ट्रपति पौडेलले कोपनहेगन प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्न र सामाजिक विकासलाई तीव्रता दिन संयुक्त राष्ट्र सङ्घका महासचिवले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिका लागि राष्ट्र सङ्घसँग निकट रही काम गर्न नेपाल तयार रहेको बताए ।

“गत सेप्टेम्बरमा भएको जेनजी आन्दोलनपछि नेपालमा नयाँ सरकार गठन भएको छ, यस आन्दोलनले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन व्यवस्थाको माग गरेको छ, युवाहरूको आकांक्षा पूरा गर्न हामी प्रतिबद्ध छौँ”, भेटमा राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन भएर आगामी फागुन २१ मा आम निर्वाचनको घोषणा गरिएको तथा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न नेपाल क्रियाशील रहेको उल्लेख गर्दै यस निर्वाचनले नेपालमा राजनीतिक निकास दिनुका साथै सुशासन, विकास र समृद्धिको मात्रा सुनिश्चित गर्ने विश्वास लिएको बताए ।

‘हामीले जेनजी आन्दोलनबाट मुलुकलाई सुरक्षित अवतरण गराएका छौँ, नेपालको संविधान र लोकतन्त्रको रक्षा गरेका छौँ राष्ट्रपति पौडेलले भने ।

कार्बन उत्सर्जन नगण्य रूपमा गरेपनि नेपालले जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरू असमानुपातिक र गम्भीर रूपमा भोगिरहेको बताउँदै राष्ट्रपति पौडेलले हामी जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण र अनुकूलनका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोगको अपेक्षा गरिएको बताए ।

  • १८ कार्तिक २०८२, मंगलवार १६:२२ प्रकाशित