इटालीमा हिमपहिरो, पाँच पर्वतारोहीको ज्यान गयो

केन्द्रभाग मिडिया

रोम ।

इटालीको डोलोमाइट पर्वत शृङ्खलाको ओर्टलर आल्प्समा गएको हिमपहिरोमा परी पाँच जना जर्मन पर्वतारोहीको ज्यान गएको छ। ज्यान गुमाउनेमा एक १७ वर्षीया किशोरी र उनका बुबा पनि रहेका छन्।

शनिबार स्थानीय समयअनुसार बेलुका करिब ४ बजे ३,५४५ मिटर अग्लो सिमा भेर्टाना हिमाल आरोहण गरिरहेका बेला उनीहरूलाई तीव्र गतिको हिमपहिरोले बगाएको थियो। एउटा तीन जनाको समूहलाई हिमपहिरोले पूरै बगाएको र उनीहरूको घटनास्थलमै ज्यान गएको थियो।

छुट्टै समूहमा रहेका बुबा र छोरीको शव भने आइतबार फेला परेको हो। तेस्रो समूहका दुई जना पर्वतारोही भने बच्न सफल भएका थिए र उनीहरूले नै उद्धारका लागि खबर गरेका थिए।

सुलडेन पर्वतीय उद्धार सेवाका प्रवक्ता ओलाफ रेन्सट्याडलरले हालैको हिउँको थुप्रो तलको बरफसँग राम्ररी नटाँसिँदा हिमपहिरो गएको हुन सक्ने बताएका छन्। उनले मौसम राम्रो भए पनि पर्वतारोहीहरू किन साँझ ढिलो गरी चढ्दै थिए भन्नेमा आश्चर्य व्यक्त गरेका छन् ।एजेन्सी

  • १७ कार्तिक २०८२, सोमबार ११:०६ प्रकाशित