वासिङ्टन डिसी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले नाइजेरियामा सम्भावित सैन्य कारबाहीको लागि तयारी गर्न रक्षा मन्त्रालयलाई आदेश दिएको बताएका छन् ।
नाइजेरियाले क्रिश्चियनहरू विरुद्धको हिंसा रोक्न पर्याप्त काम नगरेको आरोप लागिरहेकै समयमा उनको यो अभिव्यक्ति आएको हो । तर नाइजेरियाले भने यस्तो आरोप बारम्बार अस्वीकार गर्दै आएको छ ।
सामाजिक सञ्जाल गरिएको एउटा लामो पोस्टमा ट्रम्पले नाइजेरियामा अमेरिकाले दिँदै आएको सबै सहायता र सहयोग तुरुन्तै बन्द गर्ने लेखेका छन् । पोष्टमा त्यहाँको सरकारलाई छिटो यस मामिलामा कारबाही गर्न चेतावनी दिएका छन् । अमेरिका नाइजेरियामा आक्रमण गरेर त्यहाँ भयानक अत्याचार गरिरहेका इस्लामिक आतंककारीहरूलाई पूर्ण रूपमा मेटाउन सक्ने पनि उनले पोष्टमा लेखेका छन् ।
२३ करोड भन्दा बढी जनसंख्या भएको नाइजेरियामा क्रिश्चियन र मुस्लिम दुवै कट्टरपन्थी इस्लामवादीहरूको आक्रमणको सिकार भइरहेका छन् । केही हिंसाका घटना धार्मिक रूपमा प्रेरित छन् र दुवै समूहहरू मारमा परेका छन् । अरू केही हिंसा चाहिँ सीमित स्रोतहरूमा किसान र गोठालाहरू बिचको विवाद, साथै साम्प्रदायिक र जातीय तनावबाट उत्पन्न भएका छन् । एजेन्सी
















