पोखरामा अन्तर्राष्ट्रिय कराँते प्रशिक्षक अशोक लामा रुम्बालाई स्वागत

केन्द्रभाग मिडिया

 पोखरा ।

अन्तर्राष्ट्रिय क्योकुशिन कराँतेका प्रशिक्षक तथा खेलाडी अशोक लामा रुम्बालाई पोखरामा स्वागत सहित सम्मान गरिएको छ । क्योकुशिन कान कराँते संघ कास्कीले सोमबार पोखरा रंगशालामा एक समारोहका बीच रुम्बालाई स्वागत सहित सम्मान गरेको हो ।

रोजगारको शिलशिलामा हाल स्पेनमा रहँदै आएका रुम्बा गत नोभेम्बर २३ र २४ मा स्पेनमा सम्पन्न १० औं निनताई  कप स्पेनिस ओपन क्योकुशिन कराँते च्याम्पियनशिपमा प्रमुख प्रशिक्षका रुपमा उनले निभाएको भूमिकाको उच्च कदर गर्दै संघले सम्मान गरेको नेपाल फुल कन्ट्याक कराँते महासंघ गण्डकी अध्यक्ष एवं क्योकुशिन कान कराँते नेपालका शाखा प्रमुख लक्ष्मण कुवंरले बताए । रुम्बाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक( रेफ्री) को भूमिकामा सक्रिय रहँदै नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्दै आएकोले उनको प्रोत्साहनको लागि स्वागत सहितको सम्मान कार्यक्रम आयोजना गरिएको कुवंरले जनाए । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदारले रोजगारीका लागि विदेश पुगे पनि रुम्बाले खेलकुदको माध्यमबाट देशको प्रतिष्ठा बढाएको उल्लेख गर्दै उहाँको योगदान प्रशंसनीय भएको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय प्रशिक्षक रुम्बाले देश र माटोप्रतिको माया जहाँ भए पनि अविचल रहने बताउँदै, “देशको अवस्थाले विदेशिए पनि मन भने सदैव नेपालकै लागि धड्किने ” बताए । साथै उनले नेपालका सक्षम खेलाडीलाई आगामी दिनमा स्पेनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन पहल गर्ने उद्घोष गरे । विकास, अनुशासन र गतिशिलतासंगै निरन्तरताको प्रयासले खेलकुदमा लाग्ने व्यत्तिलाई सफलताको उचाई पुर्याउने उनको दाबी थियो ।

  • १० कार्तिक २०८२, सोमबार १७:२५ प्रकाशित